भक्तपुर ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालमा आवश्यकताको २० प्रतिशत पनि अंगदान हुन नसकेको बताएका छन् ।
विश्व अंगदान दिवसको अवसरमा आज शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले आवश्यकता अनुसार अंग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउनुपर्नेमा जोड दिए ।
भारतमा खुलेआम अंग बेचबिखन भएपछि भारतले कडाइ गरेको बताउँदै मन्त्री पौडेलले अंगदानका क्षेत्रमा चेतना विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
स्वास्थ्यमन्त्री पौडेलले बिमासंग बिपन्नबर्ग जोडियो भने प्रत्यारोपण सुविधा ९ लाख सम्म पुग्ने बताउँदै बिमामार्फत जटिल रोगको उपचारमा राज्यले सुविधा थप्दै जाने र अंगदान गर्नेलाई नि:शुल्क बिमा गर्न सकिने बताए ।
अंग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान हुनुपर्नेमा जोड दिँदै उनले सबै संघीय अस्पतालको क्षमता तीन गुना बढाएर सबैलाई कम्तीमा ५०० बेड बनाउनुपर्नेतर्फ सरकारले पहल गरिरहेको बताए ।

क्यान्सरको समेत छुट्टै प्रतिष्ठान बनाउनुपर्छ भन्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पतालमा पेटस्कानको व्यवस्था यो बर्षबाट गर्न लागिएको बताए ।
मन्त्री पौडेलले जनस्वास्थ्य नियमावलीमा टेकेर आइभिएफको निर्देशिका आज जारी हुन लागेको जानकारी दिए ।
कार्यक्रममा संघीय सांसद दुर्लभ थापा र प्रेम सुवालले केन्द्रको क्षमता विकास गर्दै अझ व्यवस्थित रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कलेजो र मिर्गौला प्रत्यारोपणका क्षेत्रमा केन्द्रले उल्लेखनीय काम गरेको भए पनि आफ्नै व्यवस्थित भवन नहुँदा अझै सोचे र चाहेजस्तो काम गर्न नसकेको बताए ।
कार्यक्रममा मस्तिष्क मृत्युबाट प्राप्त व्यक्तिको अंगदानबाट नयाँ जीवन पाएका शिव महर्जनले प्रेरणादायी अनुभव सुनाएका थिए।











प्रतिक्रिया