काठमाडौँ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। उनले हिजो (साउन २७) प्रतिनिधिसभामा राजीनामा दिने घोषणा गरेका थिए भने आज सभामुख देवराज घिमिरेलाई पत्र बुझाएर त्यसलाई औपचारिकता दिएका हुन्।
निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी छानबिनमा गठित संसदीय समितिले उनलाई नैतिक रूपमा जिम्मेवार ठहर गरेपछि खतिवडाले पद त्याग गरेका हुन्। राजीनामा पत्र बुझाउने क्रममा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख सचेतक महेश बर्तौला साक्षी बनेका थिए।
पत्रमा खतिवडाले लेखेका छन्, “प्रतिनिधिसभाको बैठकमा गरेको घोषणाअनुसार, आजैदेखि लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा दिएको जानकारी गराउँछु।”
हिजो संसदमा उनले भनेका थिए, “प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग भएकाले म त्यसलाई स्वीकार गर्दै, हाँसीहाँसी सभापति पदबाट राजीनामा दिन्छु।”











प्रतिक्रिया