राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा


काठमाडौं ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार (साउन २७) प्रतिनिधिसभा बैठकमै पदबाट राजीनामाको घोषणा गरेका छन्। निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था यथावत रहँदा उठेको विवादपछि उनले “नैतिकताको आधारमा” पद छाडेको बताए।

संसदीय छानबिन समितिले उनको राजीनामा माग नगरे पनि, उनले स्वेच्छाले जिम्मेवारी त्यागेका हुन्। राजीनामा घोषणाका क्रममा खतिवडाले २६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)ले गरेको ऐतिहासिक सम्बोधनको स्मरण गरे।

“आजभन्दा २६ वर्षअघि २०५६ चैत ३ गते किसुनजीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा रोस्ट्रममै भावुक हुँदै भन्नुभएको कुरा आज पनि कानमा गुञ्जिरहेजस्तो छ— देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी कहिले मुक्त हुने हो? के प्रजातन्त्रको लडाइँको सार कुटिल राजनीतिको अन्त्य र पारदर्शिताको स्थापना होइन?” खतिवडाले भने।

उनका अनुसार ‘कुलिङ अफ पिरियड’को प्रावधान राख्नुपर्नेमा आफू अगाडि बढेको तर अन्ततः सो व्यवस्था यथावत रहेपछि उल्टै आफू नै “दण्डित” भएको इतिहासमा लेखिनेछ।“यो विधेयकमा मेरो कुनै व्यक्तिगत स्वार्थ थिएन,” खतिवडाले भने, “मेरो उद्देश्य संवैधानिक संयन्त्रलाई निष्पक्ष र दर्बिलो बनाउनु मात्र थियो। राज्यको ठूलो लगानी भएका ती संस्थाहरू नियुक्तिका कारण विवादमा परिरहेका छन्, जसले प्रश्न र शंका जन्माइरहेको छ।”
खतिवडाको राजीनामासँगै समितिको नेतृत्व रिक्त भएको छ। अब नयाँ सभापति चयन गर्न प्रतिनिधिसभा प्रक्रियामा प्रवेश गर्नेछ।