काठमाडौं ।
सबै नागरिकमा इन्टरनेटको पहुँच पुर्याउने गरी अघि बढिरहेको सरकारले चालु आर्थिक वर्षमै काठमाडौं र पोखरामा फाइभजी सेवा सञ्चालन गर्ने भएको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिलेलाई नेपालभर नै फोरजीको पहुँच पुर्याउने र फाइभजी चालु आर्थिक वर्षमै काठमाडौं र पोखरा शहरमा पुर्याउने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।
विश्व आदिवासी जनजाति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने र इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारका रुपमा संयुक्त राष्ट्रसंघले सन् २०१६ मा पास गरिसकेको स्पष्ट पार्नुभयो ।
सोही अनुसार सबै नागरिकलाई इन्टरनेट पहुँच पुर्याउने गरी सरकार द्रुत गतिमा अघि बढेको र सोही क्रममा यसैवर्ष काठमाडौं र पोखरामा फाइभजी सेवा सुचारु हुने मन्त्री गुरुङको भनाइ छ । ‘अहिलेलाई नेपालभर नै फोरजीको पहुँच पु¥याउने छौं, त्यसपछि फाइभजी टेक्नोलोजी प्रयोग गर्नेतर्फ अघि बढ्ने छौं’ –मन्त्री गुरुङले भन्नुभयो ।
मन्त्री गुरुङले फाइभजी प्रयोग नगरिए एआईको सही प्रयोग हुन नसक्ने र अहिलेको भन्दा दोब्बर फास्ट हुने भएकाले पनि अब विस्तारै फाइभजी सेवामा जाने र यस वर्ष काठमाडौं र पोखरामा प्रयोगमा ल्याएर शुरुवात गर्ने गृहकार्य थालिएको जानकारी दिनुभयो ।
मन्त्री गुरुङले अब इन्टरनेटको पहुँच मानव अधिकारको कुरा भइसकेको र सन् २०१६ मा संयुक्त राष्ट्रसंघले यस विषयलाई पारित गरिसकेको बताउनुभयो । ‘अब इन्टरनेटको पहुँच हाम्रो मानव अधिकार, मौलिक अधिकारको कुरा हो । खानेपानी, बासको अधिकार, गाँसको अधिकार भनेको जस्तै । त्यसकारण नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेको छ । हरेक घरमा, पालिकामा, हरेक वडामा पुग्नुपर्छ र पु¥याउने छौं’ –मन्त्री गुरुङले भन्नुभयो ।











प्रतिक्रिया