पार्टीमा  शुद्धीकरण,आत्म निरीक्षण र आत्मविश्वास आवश्यक : गगन  थापा

1.03k
Shares

भक्तपुर। 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा शुद्धीकरण,आत्म निरीक्षण र आत्मविश्वास आवश्यक रहेको बताएका छन् ।

आज भक्तपुरमा आयोजित स्व. श्यामबहादुर कार्कीको १८औं स्मृति सभामा बोल्दै महामन्त्री थापाले कांग्रेसले आफूलाई फर्केर समीक्षा गर्दै अगि बढ्नुपर्ने बताए ।आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने बताउँदै देश चलाउने प्रमुख शक्ति कांग्रेस पार्टी रहेको बताए ।

देशका समस्याको समाधान दिनुपर्ने पार्टीमा कताकता आत्मविश्वास कमजोर भएको भन्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताए ।

उनले नेपाली समाजमा अहिले असन्तुष्टि रहेको र नागरिक रिसाएको बताउँदै यसबाट देशलाई बाहिर निकाल्ने र सम्हाल्ने काम काँग्रेसको काँधमा आएको बताए।

पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको टिप्पणी गर्दै उनले कांग्रेसलाई बलियो बनाउन अग्रज नेताहरूको मार्गनिर्देशन पालन गर्न सबै नेताकार्यकर्तालाई आग्रह गरे।

नेपाली कांग्रेस प्रतिबन्धित अबस्थादेखि नै प्रभावशाली रहेको बताउँदै उनले चुनाहारिन्छ कि जितिन्छ त्यसलाई सामान्य रुपमा लिई पार्टीले देशको समस्याको सहि पहिचान गरी निकास दिनुपर्ने बताए । थापाले युवाहरूको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्नुपर्ने र त्यसलाई कदर गर्दै देशभित्र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघीय सांसद दुर्लभ थापाले आगामी दिनमा नेपाली कांग्रेसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गर्दै आफू एआई राजनीतिका लागि तयार रहेको बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद रमा कोईराला पौडेल,बागमती प्रदेशका पुर्व मन्त्रीद्धय सुरजचन्द्र लामिछाने र कृष्णलाल कँडेल,प्रदेश सांसद सुरेश श्रेष्ठ,वरिष्ठ पत्रकार कविर राणा लगायतले स्व.कार्कीको योगदानबारे चर्चा गरे ।

स्मृति सभासँगै आयोजित रक्तदान कार्यक्रम ७२ जनाले रक्त दान गरेको र बिद्यार्थीलाई एक सय वटा स्कुल ब्याग ,स्टशनरी सामग्री र खेलकुल सामग्री विद्यालय सामग्री हस्तान्तरण गरिएको स्व.श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष बिष्णुरराज कार्कीले बताए ।