काठमाडौँ।
निर्वाचन आयोगले तयार पारेको राजनीतिक दलहरूको स्वमूल्यांकन कार्यविधि संविधान र कानुन विपरीत रहेको निष्कर्ष कांग्रेस– एमाले बाहेकका विपक्षी दलहरूको बैठकले निकालेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकमा कांग्रेस र एमाले बाहेकका दलहरू सहभागी भएका थिए।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आयोगको कार्यविधि दल विनाश गर्ने नियतसहित आएको बताउँदै भने, “निर्वाचन आयोग संविधान र कानुनबाहिर गएको देखिन्छ। कांग्रेस र एमालेबाहेकका दलहरूलाई कमजोर बनाउने प्रयासमा आयोग समेत लागेको निष्कर्ष बैठकले निकालेको छ।”
रास्वपा सांसद सोबिता गौतमले आयोगमाथि सत्तारुढ दलहरूलाई संरक्षण गर्ने र अन्यलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको आरोप लगाइन्। “स्वमूल्यांकनको नाममा आयोगले आफैं मूल्यांकन गर्ने बाटो खोल्न खोजेको छ, जुन संविधानविपरीत छ,” गौतमको भनाइ थियो।
गौतमले आयोगले ऐनमार्फत प्राप्त प्रत्यायोजित विधायनको दुरुपयोग गरेको पनि बताइन्।
बैठकमा माओवादी अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सांसद गौतम, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपाकी सचेतक रेखा यादव, र आम जनताको अध्यक्ष प्रभु साह सहभागी थिए।
बैठकले निकट भविष्यमै निर्वाचन आयोगका निर्णयविरुद्ध साझा धारणा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।











प्रतिक्रिया