कालीगण्डकी नदीको बहाब वर्षको उच्च विन्दुमा, तटीय क्षेत्र डुबानको जोखिममा


काठमाडौं ।

लगातारको वर्षाका कारण कालीगण्डकी नदीको सतह यस वर्षकै उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाले नदीको बहाब बिहान ६.४ मिटरको उचाइमा पुगेको जनाइएको छ।

पानीको सतह बढेसँगै पर्वत, स्याङ्जा र गुल्मीको सीमामा पर्ने सेतीवेणीबजार डुबानको उच्च जोखिममा परेको छ। बाँधका सबै ढोका खोलिए पनि बजार क्षेत्रका झण्डै २०० व्यापारी तथा सर्वसाधारण त्रसित छन्।

यससँगै विश्वकै ठूलो शालिग्राम शिला र शालिग्राम क्षेत्रका संरचनाहरू पनि डुबानमा परेका छन्। स्थानीय पुजारी तथा पण्डितहरू चिन्तित बनेका छन्।

हाल वर्षा रोकिएकाले बहाब बिस्तारै घट्ने अपेक्षा गरिएको छ।