सिंहदरबार वैद्यखाना घाटामै भए पनि सुधारको संकेत

ऐतिहासिक संस्था पुनरुत्थानको दिशामा


काठमाडौं ।

लामो समयदेखि आर्थिक संकटमा रहेको सिंहदरबार वैद्यखाना घाटामै छ, तर पछिल्लो समय सुधारका संकेत देखिन थालेको जनाएको छ । वैद्यखानाले चालु आर्थिक वर्ष २०८१|८२ मा लगभग ३ करोड रुपैयाँ आम्दानी गरेको र ५ करोड खर्च गरेर अझै घाटामै रहे पनि उत्पादन विस्तार, व्यवस्थापन सुधार, र कर्मचारीको सक्रियताले भविष्य उज्यालो देखिएको जनाएकोछ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. प्रदीप केसीले वैद्यखानाको आर्थिक स्थिति, उत्पादन वृद्धि, र आगामी योजनाका बारेमा जानकारी दि।नुभयो । उहाँका अनुसार, पछिल्लो आम्दानीको अधिकांश हिस्सा आर्थिक वर्षको अन्तिम दुई महिनामै संकलन गरिएको हो ।

“यदि यही गतिमा काम गर्न सक्यौं भने आगामी वर्ष वैद्यखाना घाटाबाट नाफातर्फ जान सक्छ,” — डा.केसी.ले भन्नुभयो ।
विगत आर्थिक वर्ष २०८०|८१ मा वैद्यखानाको आम्दानी १ करोड ४८ लाख मात्र थियो, जबकि खर्च ५ करोड ५२ लाख पुगेको थियो । तर २०८१|८२ मा आम्दानी दोब्बरले वृद्धि भएर २ करोड ९० लाख पुगेको छ, यद्यपि खर्च अझै ५ करोडको हाराहारी छ ।

डा. केसीका अनुसार, नयाँ नेतृत्व, कर्मचारीको प्रयास, र विभागीय सहयोगले वैद्यखानालाई सुधारको बाटोमा ल्याउन सम्भव भएको हो । उहाँका अनुसार, ५३ ब्राण्डका ४० प्रकारका आयुर्वेदिक औषधिहरू अहिले उत्पादनमा छन् भने आगामी केही महिनाभित्र १३ नयाँ ब्राण्ड थपिने छन्। ।

हाल उत्पादनमा रहेका औषधिमा अविपत्तिकर चूर्ण, अश्वगन्धा, शतावरी ग्रानुल्स, त्रिफला चूर्ण, सितोपलादि चूर्ण लगायतका सामग्री छन्। । यसैबीचमा गोक्षुरादी गुग्गुलु, प्रवाल पञ्चामृत, मकरध्वज, वसन्तकुसुमाकर रसजस्ता औषधिहरू उत्पादन प्रक्रियामा रहेको जानकारी गराईयो ।

अर्कोतर्फ, लिभकेयर, निम्वादी तेल, डाइबियर, अश्वगन्धारिष्ट, दशमुलारिष्टजस्ता औषधिहरू उत्पादन सुरु गर्ने तयारी भइरहेको छ ।

“हाम्रो लक्ष्य अनुरूप काम गर्न केही प्राविधिक चुनौती छन् तर हामी लक्ष्यप्रति दृढ छौं,” — डा. केसी.ले भन्नुभयो ।
डा. केसी २०८० माघदेखि वैद्यखानामा संलग्न छन्। । सुरुमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको रूपमा नियुक्त भए पनि २०८१ कात्तिकदेखि उनले वैद्यखाना सम्हाल्नुभएको हो । उहाँले बारम्बार कर्मचारीहरूको योगदान र विकास समिति तथा मन्त्रालयको सहयोगले संस्थालाई सुधार गर्न सहयोग गरेको बताउँनुभयो ।

वैद्यखानाको इतिहास मल्लकालदेखि सुरु हुन्छ । प्रताप मल्लले १६ औँ शताब्दीमा हनुमानढोकामा स्थापना गर्नुभएको थियो । जङ्गबहादुर राणाले १९०४ सालमा थापाथली सारेर संचालन गरेका वैद्यखाना १९९० सालको आगलागीपछि सिंहदरबारमा सारिएको हो ।

२०५१ सालमा सिंहदरबार वैद्यखाना विकास समितिमा परिणत भएको यो संस्था हालसम्म सरकारी स्वामित्वमा छ । विगतमा कच्चा पदार्थको आपूर्ति ढिलाइ, दक्ष जनशक्तिको अभाव, र नेतृत्वको अस्थिरता प्रमुख समस्या थिए । अझै पनि ठेकेदारको असहयोग र समयमै सामग्री नपुग्ने चुनौती कायमै रहेको जानकारी गराईयो ।

सरकारले यी समस्या पहिचान गरी दीर्घकालीन समाधानमा ध्यान दिन सके, यो ऐतिहासिक संस्थाले फेरि आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न सक्ने जानकारी गराईयो ।

हाल वैद्यखाना घाटामै भए पनि वर्तमान नेतृत्वको सक्रियता, उत्पादन विविधीकरण, र कर्मचारीको समर्पणले भविष्यप्रति आशावादी संकेत देखिएको छ । यदि सरकारले प्राविधिक र नीतिगत पक्षमा आवश्यक सहयोग गर्यो भने सिंहदरबार वैद्यखाना नाफाको बाटोमा फर्कन सक्ने सम्भावना बलियो छ ।