चक्रे मिलनसहित १९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ।

गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पार्टीबाट पक्राउ परेका १९ जनालाई सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।

गएराति महाराजगञ्जस्थित एक होटलमा भएको पार्टीमा प्रहरीले छापा मारी ४७ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये २८ जनालाई प्रारम्भिक छानबिनपछि छाडिएको र बाँकी १९ जनामाथि अभद्र व्यवहारको आरोपमा अनुसन्धान आवश्यक देखिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार, हिरासतमा राखिनेमा चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन्।

मध्यरातिको पार्टीमा होहल्ला र अवाञ्छित गतिविधि भएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका केही व्यक्ति होटलका सामान्य ग्राहक वा असंलग्न पनि भएकोले प्रारम्भिक स्क्रिनिङपछि उनीहरूलाई रिहा गरिएको प्रहरीको भनाइ छ।

‘विभिन्न पृष्ठभूमिका व्यक्तिहरू थिए, प्रारम्भिक छानबिनपछि जो संलग्न छैनन्, उनीहरूलाई छाडिएको हो,’ एसपी चन्दले भने ।