प्रतिबन्धलाई अटेर गरेपछि पाँच कम्पनीमा तालाबन्दी

झौखेलका पानी उद्योगको अनुगमन तीव्र

1.5k
Shares

भक्तपुर ।

चाँगुनारायण नगरपालिकले झौखेल क्षेत्रमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाए पनि बिक्री गरेको पाइएपछि तालाबन्दी गरेको छ ।

बिक्रीवितरण नरोकिएपछि नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा प्रशासन र उपभोक्ता मञ्च तथा उद्योग वाणिज्य संघले संयुक्त रूपमा अनुगमन गरी उद्योगहरूमा तालाबन्दी गरेको हो ।अनुगमन समितिको बैठकले हिजोदेखि पानी बिक्री वितरण गर्न नपाउने गरी प्रतिबन्ध लगाएर कारबाही प्रक्रिया अगाडि बढाएको थियो । बन्द उद्योगभित्रबाट पानी बिक्री भएको पाइएपछि पुनः अुनगमन तीव्र बनाएको हो । झौखेल–३ मा सञ्चालनमा रहेका खानेपानी उद्योगहरूले बिक्री वितरण गर्दै आएको खानेपानीमा मानवीय स्वास्थ्यका लागि हानिकारक ईकोली, कोलिफार्म, एमोनियालगायतका तत्वहरू पाइएपछि प्रतिबन्ध लगाएको हो ।

अनुगमणका क्रममा भक्तपुर नेचुरल वाटर प्रालिबाहेकका ५ वटा कम्पनीलाई पानी बिक्री वितरणमा रोक लगाएको हो ।
अनुगमन टोलीले आइतबार पनि झौखेलका पाँचवटा थप उद्योगको अनुगमन गरी पानीको नमुना संकलन गरी परीक्षणका लागि लगिएको जनाएको छ । नगरपालिकाले झौखेलस्थित जय छुमा गणेश खानेपानी उद्योग, ओके मिनिरल वाटर प्रा.लि, झौखेल उच्च वेभरेज प्रालि, एसएन टप वेभरेज प्रालि, एक्वाराज पानी, भक्तपुर नेचुरलवाटर प्रालि र कर्णाली मिनरल वाटर प्रा.लिबाट उत्पादित पानी उद्यागमा अनुगमन गरेको थियो ।

भक्तपुर नेचुरल वाटर प्रालिमा आवश्यकताभन्दा बढी एमोनिया भेटिएकाले तत्काललाई प्रतिबन्ध नलगाए पनि सचेत भने गराइएको उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।अनुगमन समितिले पानी उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइको अवस्था, दर्ता तथा नवीकरणको अवस्थालगायतका बारेमा स्थलगत निरीक्षण गरेको थियो । झौखेलमा मात्रै ५० वटाभन्दा बढी खानेपानी उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा छन् ।