काठमाडौं।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले आफूलाई सक्रिय राजनीतिमा लाग्न रोक नलगाएको स्पष्ट पारेकी छिन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले संविधानका कुनै धाराले पूर्वराष्ट्रपतिले दलमा आवद्ध हुन नपाउने उल्लेख नभएको बताउँदै आफू दलको सदस्य बन्ने अधिकारबाट बञ्चित हुनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेकी हुन्।
भण्डारीले भनिन्, “संविधानका धारा, मर्म र भावनाले कतै पनि म राजनीतिमा सक्रिय हुन नपाउने भनेर रोकेको छैन । त्यसैले मलाई पार्टीको सदस्यता लिन र राजनीतिमा लाग्न रोक छैन।”
उनले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर फेरि राजनीतिमा फर्कनु कुनै आश्चर्यको विषय नभएको समेत बताइन्। “म राजनीतिज्ञ भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर फेरि दलमा आवद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु स्वाभाविक कुरा हो,” उनले भनिन्, “यो कुनै पदको महत्वाकांक्षा होइन, म आफ्नो नाम इतिहासमा लेखिसकेको व्यक्ति हुँ। मेरो उद्देश्य पार्टीलाई सशक्त बनाउन र देश र जनताको सेवा गर्नेतर्फ केन्द्रित छ।”
उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको स्पष्ट गर्दै यसलाई विवादमा तानिनुपर्ने कुनै कारण नरहेको बताइन्। “एक जिम्मेवार नागरिकको हैसियतले उठेका चासो र सरोकारमा स्पष्टता दिनु मेरो दायित्व हो,” भण्डारीले भनिन्।











प्रतिक्रिया