डिम्ब चोरी प्रकरण : डा. थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन

5.92k
Shares

काठमाडौं ।

पछिल्लो समय सार्वजनिक भएको डिम्ब चोरीको घटनाले सरकार र बाँझोपना हटाउने नाममा ठगी धन्दा चलाउँदै आएका गिरोहहरूका बीच ठूलो खैलाबैला मच्चिएको छ । आईभीएफ सेन्टरका नाममा किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब (अन्डा) निकाली अवैध रूपमा कारोबार गर्ने कार्यमा संलग्न पाइएको होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकविरुद्ध प्रहरीले बालबालिका ऐन, २०७५ अन्तर्गत मुद्दा दर्ता गरसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले डिम्ब बेचबिखनको कारोवार भएको कुरा सञ्चारमाध्यममा आएपछि मात्र थाहा पाएको जिकिर गर्दै मन्त्रालयले यस विषयमा गम्भीर भएको बताउनुभयो । उहाँले उक्त विषयमा छानबिन गर्न तत्काल छानबिन समिति बनाएर प्रतिवेदनमा कानुनी खाँचोलाई समेट्न निर्देशन दिएको जानकारी पनि दिनुभयो । साथै तत्कालका लागि स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले आईभीएफ क्लिनिकहरूको अनुगमन गर्दै आएको भए पनि भविष्यमा विस्तृत नीति र कानुनी संरचना आवश्यक रहेको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।
नेपालमा आईभीएफ क्लिनिकहरू खुलेसँगै डिम्ब दान र किनबेचको चलन बढ्दै गएको छ । तर, कानुन नहुँदा नाबालिगमाथि शोषण भएको छ ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार, १८ वर्षभन्दा कम उमेरका किशोरीहरूलाई पैसाको लोभ देखाई डिम्ब निकालिएको र त्यसको प्रत्यक्ष असर उनीहरूको स्वास्थ्यमा परेको पुष्टि भएपछि पाँच जनाविरुद्ध बुधबार मुद्दा दायर गरिएको हो । सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई बालबालिका ऐन, २०७५ को दफा ६६ अनुसार मुद्दा चलाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा जस्टिना प्रधानले बिचौलिया भूमिका निर्वाह गर्दै किशोरीहरूलाई क्लिनिकसम्म पु¥याउने र त्यसवापत कमिसन लिने गरेको पाइएको छ ।

लामो समयदेखि गुपचुप रूपमा चल्दै आएको यो धन्दाका विषयमा पीडित दुई किशोरीहरूले उजुरी दिएपछि अनुसन्धान शुरू भएको हो । पीडित किशोरीहरूमा महिनावारी नहुने, अत्यधिक पेट दुख्नेजस्ता समस्याहरू देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरूको भनाइअनुसार, क्लिनिकले प्रतिकिशोरी १० हजार रुपियाँ दिँदै ९ देखि १० दिनसम्म हर्मोनल इन्जेक्सन लगाउने र त्यसपछि सामान्य शल्यक्रिया गरी डिम्ब निकालिएको उजुरीमा उल्लेख गरिएको जनाएको छ ।

पक्राउ परेका पाँच जनालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । तर, अदालतले उनीहरूलाई हाजिरी जमानीमा छाडेको छ । डिम्ब कारोबारसम्बन्धी स्पष्ट कानुन नहुँदा अदालतले कडा कारबाही गर्न नसकेको हो । यता सीआईबीले अनुसन्धान अगाडि बढाएको छ र अन्य फर्टिलिटी क्लिनिकहरू पनि निगरानीमा राखिएको जानकारी दिएको छ ।