काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद पुनः उत्कर्षमा पुगेको छ । पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई एकलौटी रूपमा पदमुक्त गरिएको घटनाले पार्टीभित्र ‘संगठनात्मक स्वेच्छाचारिता’को बहस चर्किएको छ । एकता महाधिवेशनको म्यान्डेट बोकेर अघि बढेको राप्रपा अहिले पुनः गम्भीर फाटोको दिशातर्फ उन्मुख देखिएको छ ।
गिरीलाई पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट विधानविपरीत हटाइएको भन्दै वरिष्ठ नेता विक्रम पाण्डे, उपाध्यक्ष डा. धवलशम्शेर राणा र महामन्त्री कुन्तीकुमारी शाहीसहितका नेताहरूले सार्वजनिक अपिल जारी गर्दै यस्तो निर्णयको कडा आलोचना गरेका छन् । उनीहरूले पार्टी नेतृत्वले विधान, प्रक्रिया र नैतिक मूल्यको अवमूल्यन गर्दै गिरीमाथि अन्याय गरेको दाबी गरेका छन् ।
अपिलमा भनिएको छ– ‘विधानको व्यवस्था र गरिमाको अवमूल्यन गर्दै प्राकृतिक न्यायको सिद्धान्तअनुरूप स्पष्टीकरणको मौकासमेत नदिई उपाध्यक्ष गिरीलाई हटाइनु पार्टी जीवनकै एक दुःखद् घटना हो ।’ पार्टी नेतृत्वले स्वेच्छाचारिताका साथ एकतामूलक आवाज उठाउने नेतालाई दण्डित गर्नुको पछाडि राजनीतिक असहिष्णुता लुकेको बताउँदै उनीहरूले गिरीलाई पुनः पदमा राख्न माग गरेका छन् ।
यता, संस्थापन पक्षले भने गिरीले पार्टीको अनुशासन र सामूहिक निर्णयको भावनाविपरीत गतिविधि गरेको आरोप लगाउँदै पदमुक्त विधानसम्मत निर्णय भएको दाबी गरिरहेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन निकट नेताहरूले गिरीले पार्टी निर्णयविरुद्ध सार्वजनिक अपिल गरी अनुशासन तोडेको र त्यस्तो गतिविधिको अनुमोदन गर्न नसकिने स्पष्ट पारेका छन् ।
राप्रपाभित्रको यो विवादले पछिल्लो समय तीव्र रूप लिँदै गएको ‘राजसंस्था पुनःस्थापनाको आन्दोलन’ नै ओझेलमा पारेको छ ।
मुकुन्दश्याम गिरी राजा फर्काउने आन्दोलनका सक्रिय अभियन्ताको रूपमा क्रियाशील रहनुभएको थियो ।
गिरी पदमुक्त भएपछि उहाँका समर्थकहरूले राजा फर्काउने आन्दोलनलाई नै कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उहाँका एक सहयोगी नेता भन्छन्– ‘राजसंस्थाको बहस चर्किंदै गएको बेला गिरीजस्तो सक्रिय नेतालाई हटाउनु आन्दोलनको दिशा र नेतृत्व दुवैप्रति शंका पैदा गर्नेखालको काम हो ।’
राप्रपाको एकता महाधिवेशनपछि धेरै नेताहरूले जनादेशलाई आत्मसात् गर्दै सामूहिक नेतृत्वको अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, पछिल्लो घटनाले ती प्रतिबद्धता र घोषणाहरूको औचित्यमाथि नै प्रश्न उठाएको छ ।
वरिष्ठ नेता विक्रम पाण्डेको भनाइ अनुसार गिरीजस्तो नेताको योगदान र भूमिकालाई हेर्दा उहाँलाई यसरी हटाउनु राजनीतिक अनुशासनभन्दा व्यक्तिगत असहिष्णुताको उपज हो । यस्तो घटनाले पार्टीको आदर्शमै चोट पु¥याएको छ ।
पार्टी नेतृत्वमाथि उठेको असहमतिको स्वर एकपटक फेरि स्पष्ट भएको छ । लिङ्देन पक्ष र राणा–पाण्डे पक्षबीचको दुरी पुनः चर्किने सम्भावना देखिएको छ । आन्तरिक असन्तुलन र असहिष्णुताको यो प्रवृत्तिले राप्रपाभित्र अर्को विभाजनको जोखिमसमेत देखिन थालेको विश्लेषकहरूको बुझाइ छ । यदि, नेतृत्वले सबै पक्षलाई समेट्ने संयमित भूमिका नखेलेको खण्डमा पार्टीभित्रको आन्तरिक विद्रोह फेरि चर्कन सक्ने एक नेताले नेपाल समाचारपत्रलाई बताए ।
यदि, नेतृत्वले अपारदर्शी निर्णय सच्याएर समावेशी राजनीति अभ्यास गर्न सकेन भने राजसंस्था पुनःस्थापनाको आन्दोलन पार्टीभित्रकै द्वन्द्वमा अलप हुने खतरा स्पष्ट छ । पार्टीको राजनीतिक भविष्य र आन्दोलन दुवैको रक्षाका लागि अब संयम, संवाद र समन्वय अपरिहार्य देखिन्छ ।











प्रतिक्रिया