कर्णाली विकास बैंक ठगी प्रकरण:  राष्ट्र बैंकका पूर्वकर्मचारीसहित उच्च तहका सञ्चालकहरू संलग्न


काठमाडौं ।  

कर्णाली विकास बैंकमा भएको व्यापक आर्थिक अनियमितता र ठगी प्रकरणले नयाँ मोड लिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार यस ठगी काण्डमा नेपाल राष्ट्र बैंकका तत्कालीन सुपरिवेक्षण अधिकृतदेखि बैंक सञ्चालक, अध्यक्ष र विभागीय प्रमुखसम्मको संलग्नता खुलेको छ । घटनामा संलग्न मुख्य पात्रहरूमध्ये कतिपय पहिले नै प्रहरीको थुनामा छन् भने केहीलाई हालै मात्र पक्राउ गरिएको छ ।  नेपाल राष्ट्र बैंकबाट सहायक निर्देशकको रुपमा अवकाश पाएका  भुवन बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेपछि यो प्रकरण राष्ट्र बैंककै आन्तरिक संरचनामा फैलिएको मिलेमतोको रूपमा बाहिर आएको हो।

सिआइबी स्रोतका अनुसार भुवन बस्नेतले सुपरिवेक्षणको समयमा कर्णाली विकास बैंकका सञ्चालकहरूसँग मिलेमतो गर्दै आर्थिक लाभ लिएका प्रमाण फेला परेका छन् । सुपरिवेक्षणकर्ताको भूमिकामा रहेर उनले बैंकमा भइरहेको अनियमिततालाई ढाकछोप गरेका थिए । अनुसन्धानमा देखिएको छ कि राष्ट्र बैंकका केही कर्मचारीहरू बैंकका ठूला सञ्चालकहरूको पक्षमा उभिँदै नियमन प्रक्रियामा हस्तक्षेप गर्दै आएका थिए ।  यो प्रकरणमा राष्ट्र बैंकका अधिकारीले प्रत्यक्ष लाभ लिएको प्रमाण फेला परेको यो पहिलोपटक हो । यसले नियामक निकायभित्रकै कमजोरी र भ्रष्टाचारको गम्भीर संकेत दिएको छ ।

यसअघि सिआइबीले कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपति दयाल मिश्रा, तथा वित्त विभाग प्रमुख देवप्रकाशसिंह ठकुरीलाई पक्राउ गरिसकेको छ । उनीहरूलाई बैंकको शेयर विक्री, ऋण प्रवाह र आन्तरिक लेखापरीक्षण प्रक्रियामा अनियमितता गर्दै व्यक्तिगत लाभ लिएको आरोपमा थुनामा राखेर अनुसन्धान भइरहेको छ ।

अनुसन्धान अनुसार, राय र मिश्राले बैंकको कार्यकारी निर्णयमा हस्तक्षेप गर्दै गैरकानुनी रुपमा ऋण प्रवाह गरेका थिए, जुन रकम फिर्ता नभएको पुष्टि भएको छ। वित्त विभाग प्रमुख ठकुरीले बैंकको लेखापरीक्षण विवरण हेरफेर गरेको र राष्ट्र बैंकलाई झुटो विवरण बुझाएको अनुसन्धानमा खुलेको छ ।

कर्णाली विकास बैंकमा देखिएको अनियमितता केवल संस्थागत कमजोरी होइन, नियामक प्रणालीकै असफलता भएको प्रष्ट देखिएको छ । राष्ट्र बैंकजस्तो सर्वोच्च नियामक निकायभित्रैका कर्मचारी भ्रष्टाचारमा मुछिनु गम्भीर विषय बनेको छ ।

नेपाल राष्ट्र बैंकले हाल यस विषयमा आन्तरिक छानबिन समिति गठन गरेको बताइएको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले नाम नखुलाउने शर्तमा भने,– यो घटना लाजमर्दो हो । नियामकका कर्मचारीको संलग्नता हुनुले सम्पूर्ण बैंकिङ प्रणालीमै शंका पैदा गर्छ ।

सिआइबीका अनुसार यो प्रकरणमा अझै केही व्यक्ति अनुसन्धानको दायरामा रहेका छन् । बैंकका अन्य कार्यकारी पदाधिकारीहरू, लेखा परीक्षक र बाह्य सल्लाहकारको भूमिका पनि खोतलिँदैछ । प्रारम्भिक अनुसन्धानले देखाएको छ कि बैंकमा  इनसाइडर सिण्डिकेटको रुपमा कार्य भएको थियो, जहाँ सीमित व्यक्तिहरूको मिलेमतोमा करोडौंको वित्तीय हिनामिना भएको हो ।

कर्णाली विकास बैंकको ठगी प्रकरण केवल एउटा निजी बैंकको आन्तरिक समस्या नभई सम्पूर्ण वित्तीय प्रणालीमा व्याप्त भ्रष्टाचार, नियामक लापरवाही र शक्ति संरचनाको दुरुपयोगको नमूना बनेको छ । राष्ट्र बैंकका पूर्वअधिकारीको संलग्नता पुष्टि भएसँगै अब छानबिन अझ गहिरो हुँदै जाने संकेत देखिएको छ ।सरकार, नियामक निकाय र आम नागरिकबीचको भरोसामा खलल पु¥याउने यस्ता घटनामा कठोर कारबाही सुनिश्चित गर्नुपर्ने आवाज चर्किंदै गएको छ।