लाङ्दिमा भीषण पहिरो :छविलाल विक दम्पती वेपत्ता, एकको सकुशल उद्धार


पर्वत ।

हिजो राति परेको अविरल वर्षाले पर्वत जिल्लाको मोदी गाउँपालिका–३ लाङ्दिमा भीषण पहिरो जाँदा एक घर पुरिँदा दुई जना वेपत्ता भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ।

स्थानीय वडाध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीका अनुसार पहिरो छविलाल विकको घरमाथिबाट खसेको थियो। घटनामा घरधनी छविलाल विक र उनकी श्रीमती पहिरोले पुरिँदा बेपत्ता भएका छन्। घटनाको बेला उनीहरू घरभित्रै सुतिरहेकै समयमा पहिरो खसेको बताइएको छ।

“अहिलेसम्म छविलाल विक र उनकी श्रीमती सम्पर्कमा आएका छैनन्। हामी गाउँले मिलेर रातिदेखि उद्धारमा खटिरहेका छौँ,” वडाध्यक्ष क्षेत्रीले बताए। उनका अनुसार तेस्रो व्यक्तिको भने सकुशल उद्धार गरिएको छ।

पहिरो अत्यन्तै ठूलो भएकोले उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ। लगातारको वर्षाका कारण जमिन अझै चिप्लो रहेकाले जोखिम बढेको छ।

घटनास्थलमा स्थानीयवासी, जनप्रतिनिधि र नेपाल प्रहरीको टोली उद्धारमा जुटिरहेका छन्। सम्भावित अन्य जोखिमलाई मध्यनजर गर्दै वरपरका घरहरूलाई पनि सचेत गराइएको छ।

स्थानीय प्रशासनले थप उद्धार टोली र मेसिनरी साधनहरू परिचालन गर्न गृह मन्त्रालयमार्फत सहयोग माग गरेको छ।

पछिल्लो समय पहाडी भेगमा लगातारको वर्षाले पहिरोको जोखिम बढिरहेका बेला लाङ्दिको यो घटना गम्भीर रूपमा लिइएको छ। उद्धार र खोज कार्य जारी रहेको छ भने वेपत्ताको अवस्था खुल्न बाँकी छ।