मनाङ ।
हिमालपारिको जिल्ला मनाङमा आर्थिक वर्ष २०८१÷०८२ मा कुल ३७ हजार ७ सय ३२ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत धारापानीस्थित पर्यटक चेकपोस्टबाट प्राप्त तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ ।
हिजोआज पनि दैनिक दर्जनको हाराहारीमा विदेशी पर्यटकको आगमन भइरहेको एक्याप कार्यालय मनाङ प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । उहाँका अनुसार उक्त आगमनमध्ये २२ हजार ४ सय ७७ जना पुरुष, १५ हजार २ सय ४९ जना महिला र ६ जना अन्य लिङ्गका पर्यटक रहेका छन् । मनाङ भ्रमण गर्ने पर्यटकमध्ये २ हजार ५ सय ५४ जना सार्क राष्ट्रबाट आएका थिए भने बाँकी ३५ हजार १ सय ७८ जना अन्य देशबाट आएका थिए ।
‘यो वर्षको विशेषता भनेको १३४ देशका पर्यटकले मनाङको यात्रा गर्नु हो’ –कार्यालय प्रमुख ढकालले भन्नुभयो । तीमध्ये सबैभन्दा धेरै पर्यटक इजरायलबाट आएका थिए । इजरायलबाट ४ हजार ३ सय ५८ जना पर्यटकले मनाङको भ्रमण गरे । त्यसपछि फ्रान्सबाट ३ हजार ६ सय १६ जना र जर्मनीबाट २ हजार ८ सय ४२ जना पर्यटक आएका थिए ।
मनाङको हिमाली भौगोलिक स्वरूप, अन्नपूर्ण पदयात्रा मार्ग, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू र प्राकृतिक सौन्दर्यका कारण वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । मौसमअनुकूल हुँदा यो क्षेत्र विदेशी पर्यटकको मुख्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।
एक्यापका अनुसार पर्यटक आगमनको प्रमुख सिजन असोजदेखि मंसिर र फागुनदेखि वैशाख महिनासम्म रहन्छ । पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न स्थानीय व्यवसायीहरूले पनि यो वृद्धिलाई सकारात्मक संकेतको रूपमा लिएका छन् । स्थानीय पर्यटन व्यवसायीका अनुसार सरकारले पूर्वाधार, सुरक्षा र सहजीकरणमा अझ ध्यान पु¥याए अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिनेछ ।
मनसुनसँगै सुनसान बन्दै मनाङ
पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज मनसुन शुरू भएसँगै सुनसान बन्दै गएको छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्टमात्र विदेशी पर्यटक भित्रने गरेका छन् ।
केही दिनयता मनाङमा मनसुन शुरू भएसँगै दैनिक दर्जन हाराहारीमा विदेशी पर्यटक सीमित हुन पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो ।उहाँले भन्नुभयो– ‘वर्षात्को समयमा मनाङमा आन्तरिक पर्यटक कम आउँछन् । असोजदेखि मङ्सिर र फागुनदेखि वैशाख मुख्य पर्यटकीय याममा यहाँ पर्यटकको संख्या बाक्लो हुने गर्छ ।’ सडक विस्तारले पदमार्ग छोटिँदा अन्नपूर्ण चक्रीय पदमार्गको साख गुम्दै गएको छ । पहिले २८ दिनको पदयात्रा अहिले एक हप्तामै छोटिएको छ ।
कुल पर्यटक आगमन : ३७,७३२ जना
सार्क राष्ट्रबाट : २,५५४ जना
अन्य राष्ट्रबाट : ३५,१७८ जना
कुल देश संख्या : १३४ वटा
प्रमुख ३ पर्यटक राष्ट्रहरू
इजरायल : ४,३५८ जना
फ्रान्स : ३,६१६ जना
जर्मनी : २,८४२ जना











प्रतिक्रिया