कामपाद्वारा सीमित ठेकेदारलाई ठेक्का दिन चलखेल

12.41k
Shares

–विवादास्पद भूपदेवको डिजाइनमा ठेक्का
–टेन्डर सूचना निस्केकै भोलिपल्ट सहरी योजना आयोगका उपाध्यक्ष राजभण्डारी हटाइए
–सल्लाहकार पाण्डेले काम छाडे

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको ऐतिहासिक बागदरबार भवनको प्रबलीकरण कार्यका लागि प्रस्ताव गरिएको करिब पौने अर्ब रुपियाँ बराबरको ठेक्का प्रक्रिया टेन्डर निकालेको चार दिन बित्न नपाउँदै विवादित बनेको छ । स्रोतले उपलब्ध गराएको विवरणअनुसार उक्त ठेक्कामा पूर्वनियोजित ढंगबाट ठेकेदार छान्ने रणनीति अपनाएको देखिएको छ ।

ठेक्का प्रक्रियामा शुरूदेखि नै काम गरिरहनुभएका कामपा सहरी योजना आयोगका तत्कालीन उपाध्यक्ष सुमन नरसिंह राजभण्डारीलाई मेयर बालेन्द्र साहले बर्खास्त गर्नुमा पनि सोही कारण हुनसक्ने आशंका गरिएको छ । टेन्डर प्रक्रियामा काम गर्नुभएका कामपाका सल्लाहकार एवं पूर्व सचिव शंकर पाण्डेले समेत कामपा छाडिसक्नुभएको छ ।

मेयर साहको निर्णयअनुसार टेन्डर निकाल्नुअघि सहरी योजना आयोगका उपाध्यक्ष राजभण्डारीको निगरानीमा पूर्वसचिव शंकर पाण्डेले नेतृत्व गरेको बोलपत्र पुनरावलोकन समिति गठन भएको थियो । सार्वजनिक खरिद ऐनले मान्यता नदिएको यो समिति गैरकानुनी रहेको र समितिले शुरू गरेको प्रक्रिया कानुनविपरीत रहेको आरोप पनि लागेको छ ।

टेन्डर निस्किएकै दिन गत बिहीबार मेयर साहले आयोग उपाध्यक्षलाई हटाउनुभएको थियो भने सल्लाहकार पाण्डेले आफंै महानगर छाड्नुभएको थियो ।विवादित टेन्डरको सूचना निस्केकै दिन मुख्य भूमिकामा रहेका दुई जनाले कामपा छाड्नुका बारेमा कामपाका उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भन्यो –‘सायद केही विवाद भएको हुनसक्छ, सो विषयमा छानबिन हुनु आवश्यक छ ।’ठेक्कामा सेटिङ मिलाउन मेयर साहका निजी सचिव भुपदेव साहको सक्रिय भूमिका देखिन्छ ।

साहकै कारण टेन्डर प्रक्रिया विवादमा पर्ने देखिएको स्रोतको भनाइ छ । मेयर साहले बागदरबारलाई समयमै रेक्ट्रोफिट गर्ने चाहना राख्नुभएको तर प्राविधिक र विभिन्न कारण देखाउँदै ढिलो गरिएको स्रोतको भनाइ छ । टेन्डर ढिला आयो तर विवादरहित हुन सकेको छैन ।

ठेक्का सूचना सेटिङका लागि विशेष प्रावधान राखिएका छन् । त्यसमा खरिद ईकाइ प्रमुख राम रतन साहको मुख्य भूमिका रहेको आरोप लागेको छ । स्रोतका अनुसार टेन्डर सूचना निकाल्नुअघि खरिद एकाई प्रमुख साहलाई शंकरप्रसाद पाण्डे, सुनिल लम्साल र भुपदेव साहले दिएको मैखिक निर्देशनमा तयार पारिएको बोलपत्र सूचनामा सेटिङ गरिएको प्रावधानहरू राखिएको दाबी स्रोतको छ ।

७५ करोड रुपियाँ लागत अनुमान रहेको निर्माण कार्यको तथ्यलाई तोडमोड गरी १ अर्बभन्दा माथिको बोलपत्र डकुमेन्टलाई आधार मानी ‘स्पेसिफिक कन्स्ट्रक्सन’ अनुभवमा उल्लेख गरेको छ । ‘वर्क अफ बिल्डिङ’मात्र राखेर प्रतिस्पर्धालाई फराकिलो नबनाई रेक्ट्रोफिटिङ वर्क वा बिल्डिङ राखी सेटिङवाला बोलपत्रदाता लक्षित गरी प्रतिस्पर्धालाई सीमित बनाइएको दाबी स्रोतको छ । स्रोतले भन्यो– ‘कि एक्टिभिटिजमा स्ट्यान्डर बिडिङ डकुमेन्ट (एसबीडी) को विपरीत एबीडीमा हुँदै नभएको निश्चित वर्ष (पर इयर) भन्ने प्रावधान राखी प्रतियोगिता सीमित र बोलपत्रदाता लक्षित गरेको छ । भित्रभित्रै सेटिङ गरी सबै कागजात तयार गरेपछिमात्र प्रक्रिया अघि बढेको देखिन्छ ।’

त्यस्तै, १० वर्षसम्म प्रत्येक वर्षको अनुभव मागी प्रतिस्पर्धालाई बोलपत्रदाता लक्षित गरिएको छ अर्थात् क्षमता भएका बोलपत्रदातहरूलाई आउन नदिई सेटिङ गरेको बोलपत्रदातसँग मेल खानेगरी बिड डकुमेन्ट तयार गरिएको स्रोतको भनाइ छ । एक निश्चित ठेकेदारको योग्यता अनुसारमात्र सूचना मिलाइएकोले गर्दा थप प्रक्रिया अघि बढाउन नसक्ने र आफू अख्तियारको फन्दामा पर्नसक्ने भन्दै कर्मचारीले उक्त प्रक्रिया गलत भएको बताइरहेका छन् ।

महानगरपालिकाको खरिद एकाईमा कार्यरत अधिकारीहरू अनुसार यस्ता हर्कतले विद्रोहको स्थिति सिर्जना भएको छ । इकाइ प्रमुख साहको एकलौटी निर्णयको कारण कर्मचारीलाई काम गर्न हैरानी भइरहेको स्रोतको भनाइ छ । ईकाइ प्रमुख साहले मेयरका समूहको निर्देशनमा सबै कार्यहरूमा स्वीकृति दिइरहेका छन् । यसैकारण, मूल्यांकन समितिमा रहेका कर्मचारीहरूले रामरतन साहको सरुवा नभएसम्म ठेक्काको मूल्यांकन नगर्ने अनौपचारिक निर्णय लिएको स्रोतको भनाइ छ ।

कामपाको सार्वजनिक निर्माण विभागको अनुमानअनुसार बागदरबारको प्रबलीकरण कार्यको लागत ७५करोड रुपियाँ रहेको छ । उक्त अनुमानित लागत आ व २०८२÷०८३ को नगरसभाबाट पारित गरी सबै रकम स्वीकृत गर्ने योजना छ । वित्त विभागले सो काम प्रतिस्पर्धात्मक बोलपत्रद्वारा गर्न सुझाव दिएको छ । यथासम्भव बढी निर्माण कम्पनी सहभागी हुने किसिमको मापदण्ड तयार गर्न निर्देशन दिइएको भए पनि, सो निर्देशनमाथि ध्यान नदिई पूर्वनिर्धारित प्रक्रिया लागू गरिएको देखिन्छ ।

बागदरबारजस्तो ऐतिहासिक भवनको संरक्षणको नाममा सार्वजनिक खरिद ऐनको मर्म र आन्तरिक सल्लाहको समेत उपेक्षा गर्दै पूर्वनिर्धारित निर्णय प्रणालीको प्रयोगले काठमाडौं महानगरपालिकामा गम्भीर संस्थागत भ्रष्टाचार र प्रभावकारी ठेक्का सेटिङको रहेको आशंका कर्मचारीले गरेका छन् ।

जीर्ण बागदरबार एक दशकपछि जीर्णोद्वार गर्ने तयारी भइरहँदा विवादको घेरामा परेको छ । विसं २०७२ सालको वैशाख १२ र २९ गतेको भूकम्पबाट क्षतिग्रस्त दरबार करिब साढे ७४ करोड रुपियाँमा रेक्ट्रोफिट हुन लागेको हो । करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको बागदरबार दुई वर्षभित्र रेक्ट्रोफिट गर्ने योजना छ । पुरातत्व विभागले हालकै अवस्थामा रेक्ट्रोफिट गर्नदिने निर्णय गरेपछि कामपाले टेन्डर सुचना निकालेको थियो । शुरूमा विभागको सहमतिबिना सूचना निकाल्ने तयारी भएको थियो । पछि विभागको स्वीकृतिको कागजात खोजी गरेपछि कामपाले बल्ल उपलब्ध गराएको थियो ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले सय वर्ष पुरानो दरबार संरक्षण गर्ने दायित्व विभागको भएकोले सोहीअनुसार नभत्काइकन रेक्ट्रोफिट गर्ने निर्णय गरेको जानकारी दिँदै भन्नुभयो– ‘पुरानो नक्सामा जस्तो छ, त्यस्तै हुनुपर्छ । सोही आधारमा निर्णय गरेका हौं ।’