कल्याणपुरका मेयर साह १ लाख घुससहित पक्राउ


सिरहा।

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको छ। बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो। अख्तियार स्रोतका अनुसार, टोली हाल नगरपालिकाको कार्यालयमै रही कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ।

अख्तियारका अनुसार, कल्याणपुर नगरपालिकामा २० लाख रुपैयाँ बजेटमा नाला निर्माणको काम भइरहेकाे छ। उक्त योजनाको उपभोक्ता समितिसँग मेयर साहले २० प्रतिशत कमिसन माग गरेका थिए।तर, उपभोक्ता समितिले रकम दिन नसक्दा मेयर साहले योजनाको भुक्तानी चेक नदिने अडान लिएका थिए।

सात दिनसम्म बार्गेनिङ चलेपछि उनले “पहिले १ लाख बुझाउनु, बाँकी रकम चेक खातामा आएपछि देऊ” भन्ने सर्त राखेका थिए।

घटनाबारे जानकारी दिँदै अख्तियार बर्दिबासका प्रमुख रामबहादुर कुरुम्बाङले भने, “घुस लेनदेनसम्बन्धी सूचना आधारमा पक्राउ गरिएको हो। हाल कानुनी प्रक्रिया अघि बढिरहेको छ।”