काठमाडौँबाट ५ किलो थाई गाँजा र लागुऔषध एम्फेटामाइन बरामद, ६ जना पक्राउ


काठमाडौँ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न विदेशी नागरिकसहित ६ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट थाई गाँजा ५ किलो र एम्फेटामाइन १५५ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

एम्फेटामाइनसहित ४ जना नेपाली पक्राउ
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लामो समयको अनुसन्धानपछि सोमबार दिउँसो काठमाडौँ महानगरपालिका–२७ स्थित एक होटलबाट १५५ ग्राम एम्फेटामाइनसहित ४ नेपाली नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कमलबहादुर तामाङ, ३८ वर्ष, म्यगङ गाउँपालिका–३, नुवाकोट, सोही ठाउँका ३२ वर्षीय दिपेन्द्र तामाङ, उग्रेन लामा, २९ वर्ष, जितपुरसिमरा उपमहानगरपालिका–१६, बारा र सोही ठाउँका २७ वर्षीय उमेश भोलोन रहेका छन्।

थाई गाँजासहित भारतीय नागरिक पक्राउ

अर्को घटनामा बैंककबाट एयर एशियाको उडान FD182 मार्फत काठमाडौँ आएका भारतको मणिपुर निवासी LEIYAWON PHUNGTHAR, ३० वर्ष, पासपोर्ट नं. Y3477316 भएका भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थल परिसरबाट ५ किलोग्राम थाई गाँजासहित पक्राउ गरेको छ । उनलाई सोमबार अपराह्न ३:३० बजे पक्राउ गरिएको हो।

फरार रहेका गिरोहका नाइके पनि समातिए

यसअघि गत जेठ ८ गते बैंकक हुँदै कोलम्बोबाट नेपाल आएका भारतीय नागरिक Kapil Bhardwaj लगायत दुई जनालाई १८ किलोग्राम गाँजा र २.६५ ग्राम कोकिनसहित पक्राउ गरिएको थियो। सोही मुद्दामा फरार रहेका मुख्य योजनाकार तथा गिरोहका नाइके Amarjit Singh Sandhu, ६४ वर्ष, भारतको दिल्लीस्थित A2/55 Rajouri Garden निवासी, यही असार २९ गते राति ९:४० बजे काठमाडौँ महानगरपालिका–२६, लैनचौरस्थित एक होटलबाट पक्राउ परेका छन्।

पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ।