छाउगोठमै ज्यान गुमाउँदै महिलाहरू, कञ्चनपुरमा फेरि एक मृत्यु


काठमाडौं ।

कञ्चनपुरकी २८ वर्षीया कमला आउजी दमाईंको छाउगोठमै सर्पदंशबाट ज्यान गएको छ। महिनावारीका बेला छाउगोठमा बस्नुपरेको बाध्यता उनको मृत्युको कारण बन्यो। यस्तै, २०७५ मा बाजुरामा छाउगोठमा आगलागी हुँदा आमासहित दुई छोराको ज्यान गएको थियो।

रजस्वलाको समयमा छाउगोठमा बस्ने कुप्रथाका कारण सुदूरपश्चिममा पछिल्लो दशकमा आठ महिलाले ज्यान गुमाएका छन्। एक बलात्कारको सिकार भएकी छन् भने एक महिलामाथि बाघले आक्रमण गरेको छ।

मुलुकी अपराधसंहिता २०७५ ले छाउपडी निषेध गरे पनि व्यवहारमा त्यो कार्यान्वयनमा आउन सकेको छैन। प्रहरीको अभियानपश्चात भत्काइएका गोठहरू पुनः निर्माण गरिँदै आएको छ। कमला आउजीको मृत्युपछि कञ्चनपुरमा फेरि छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ।