घुस डिल अडियो काण्ड: मन्त्री गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि चौतर्फी दबाब


काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मन्त्री गुप्तालाई बर्खास्त गर्न दबाब तीव्र बनेको छ ।

प्रमुख सत्तारुढ दल कांग्रेस र प्रधानमन्त्रीकै दल एमालेभित्रै मन्त्री गुप्तालाई बर्खास्त गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवाज अत्यधिक उठेको छ । दुवै दलका नेताहरूले समेत गुप्तालाई तत्काल बर्खास्त गरी कारबाही प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलहरूले पनि गुप्तालाई बर्खास्त नगरिएको भन्दै प्रधानमन्त्रीको कडा आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीले विवादास्पद अडियो सार्वजनिक भएपछि सोमबार बिहानै बालुवाटारमा मन्त्री गुप्तालाई बोलाएर स्पष्टीकरण लिए पनि बर्खास्त गर्नुभएको छैन । भ्रष्टाचारको अडियो प्रकरणपछिको मौनता र निष्क्रियताप्रति संसद्देखि पार्टी वृत्तसम्म आलोचना बढेको छ ।

एमाले सांसद किरणकुमार साहले प्रतिनिधिसभा बैठकमा बोल्दै ‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ?’ भन्दै प्रश्न गर्नुभयो । ‘दुनियाँले सुनेको अडियो सरकारले नसुनेझैँ गर्नु लोकतन्त्रको अपमान हो । गुप्तालाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिनको गर्नुपर्छ’ –साहले भन्नुभयो ।

यसैबीच, कांग्रेस महामन्त्री गगन थापाले पनि प्रधानमन्त्री ओलीमाथि दबाब दिँदै भन्नुभएको छ– ‘मन्त्री गुप्तालाई तत्काल बर्खास्त गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनुपर्छ । भ्रष्टाचारसँग कुनै पनि रूपमा सम्झौता हुन सक्दैन ।’

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भइसकेको र सरकारले तत्काल एक्सन लिनुपर्छ भन्ने सन्देश दिइएको बताउनुभयो । विवादित मन्त्री गुप्ताले सोमबार प्रधानमन्त्रीसँगको भेटपछि दिनभर मन्त्री मोबाइल अफ गरेर सम्पर्कविहीन हुनुभएको छ । उहाँमाथि पार्टीभित्रैबाट बढ्दो असन्तोष, प्रतिपक्षको दबाब र सार्वजनिक आक्रोश बढ्दै गएको र प्रधानमन्त्रीले कारबाही नगरेमा सरकारको सुशासनप्रतिको प्रतिबद्धता फोस्रो परिणत हुने विश्लेषकको भनाइ छ ।

‘यस घटनाले न केवल गुप्ताको मन्त्री पदको स्थायित्वमाथि प्रश्न उठाएको छ, सुशासन र शून्य सहनशीलताको प्रधानमन्त्रीको भनाइमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ’ –विश्लेषकहरूले भनेका छन् ।