प्रहरी जनताको लोकप्रिय संस्थाका रुपमा विकास हुँदै : गृहमन्त्री लेखक


काठमाण्डौं। 

 गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा द्रुत विकास भइरहेको जानकारी दिए । “मन्त्रालयमा धेरै चाप अस्थायी प्रहरी चौकीमाग, अस्थायीलाई स्थायी र  प्रहरी चौकी स्तरोन्नति\स्थापनाको जोड देशव्यापी छ ।” उनले भने–“नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।”

त्यसैगरी नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको बताउँदै मन्त्री लेखकले केही दिनपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पुनः विधेयकमाथिको छलफल सुरु हुने धारणा राखे । “ प्रहरी कर्मचारीमा हवलदारसम्म १६ वर्षमै पेन्सन पाउने गरेर अवकाशमा जाने गरेर व्यवस्था विधेयकमा गरिएको छ ।” उनले भने–“ प्रहरीको उच्च मनोबलका साथ कार्यदक्षता बढ्न सकोस् भनेर प्रहरी संगठनलाई तुलनात्मक रुपले राम्रोसित आगामी वर्षका लागि बजेट विनियोजन गरिएको छ ।”

आम नागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न मन्त्री लेखकले निर्देशन दिए । अनलाइन सचेतना कक्षा सञ्चालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यात्मक अवस्था हट्ने छ ।