काठमाडौं ।
नेपाली कांग्रेस, जुन आफूलाई लोकतान्त्रिक मूल्यमान्यता अँगालेको पुरानो र सशक्त पार्टीको रूपमा चिनाउँछ, त्यही पार्टी अहिले विधि, विधान र अनुशासनको नाममा आन्तरिक विद्रोहको सामना गरिरहेको छ। पार्टीभित्रको अनुशासनको सन्दर्भ अहिले गम्भीर बहसको विषय बनेको छ।
पछिल्लो समय कांग्रेसको अनुशासन समितिले एकै पटक १८ जना नेतामाथि कारबाही गरेपछि तीव्र तरंग सिर्जना भएको छ। कारबाहीमा परेकामध्ये पूर्वमन्त्री, महामन्त्री परिषद्का सदस्य, जिल्ला र क्षेत्रीय तहका नेतादेखि सामान्य कार्यकर्तासम्म परेका छन्। कारबाहीको कारण भनेको पार्टीभित्र अन्तर्घात गर्नु बताइएको छ। तर यत्ति कारण मात्रले त यस्तो सशक्त कारबाहीलाई न्यायोचित ठहर गर्न मुस्किल देखिन्छ।
विधिसम्मत कारबाही या गुटगत पूर्वाग्रह ?
कांग्रेसको विधानले अवान्छित गतिविधि गरेमा कारबाही गर्न सकिने प्रावधान राखेको छ। तर विधान अनुसार, उजुरी परेको ६ महिनाभित्र कारबाही टुंग्याइसक्नुपर्ने उल्लेख छ। संघ र प्रदेशको निर्वाचन भएको दुई वर्षभन्दा बढी, स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुगिसकेको अवस्थामा अहिले एकाएक कारबाहीको डण्डा चलाइनु विधिसम्मतभन्दा पनि गुटगत पूर्वाग्रहप्रति औंला ठडिएको छ।
संस्थापन पक्षको कदमलाई गम्भीरतापूर्वक लिँदै इतर पक्षका नेता डा.शेखर कोइरालाले आक्रोश पोख्दै, कारबाहीलाई ‘पूर्वाग्रही, अन्यायपूर्ण र गुटगत राजनीति’ को प्रतिफल भनेका छन्। बिहीबार कोइरालाले आफूनिकट नेताहरुसँग सचिवालयमा बैठक गरी यो कारबाहीविरुद्ध रणनीति तय गरेका छन्।
गठबन्धनको विरोधले जन्मायो विद्रोह
नेपाली कांग्रेसभित्रको विवादको मूल जरा अझ गहिरो छ। २०७९ सालको संघ र प्रदेश निर्वाचन, र त्यसअघि स्थानीय तहमा पार्टी नेतृत्वले आफ्नै कार्यकर्ताहरुसँग सल्लाह नगरी गठबन्धनको निर्णय गर्यो। कार्यकर्ताहरु खासगरी तल्लो तहमा रहेका नेताहरुले गठबन्धनको विरोध गरेका थिए, र रुख चिन्हमा नै मत माग्न पाउनुपर्ने माग राखेका थिए। तर शीर्ष नेतृत्वले ती आवाजलाई बेवास्ता गर्यो।
उदाहरणको लागि, खोटाङका कांग्रेस सभापति विष्णुकुमार राईले पार्टी निर्णयविरुद्ध रुख चिन्हकै पक्षमा मत मागेका कारण कारबाहीमा परेका छन्। उनी भन्छन् – “पार्टीको ढोका बन्द गरियो, हामी विद्रोह गर्न बाध्य भयौं। तर त्यो विद्रोह रुखको लागि थियो, पार्टीको अस्तित्वको लागि थियो, गद्दारी होइन।”
गुटगत प्रभाव र अनुशासनको नाममा प्रतिशोध
नेपाली कांग्रेसमा गुटगत प्रभाव, अन्तर्घात र एकले अर्कोलाई सिध्याउने संस्कृति नौलो होइन। तर यो पटक कारबाहीले आगामी २०८४ को निर्वाचन र पार्टी महाधिवेशनको पूर्वतयारीका रूपमा संस्थापन इतरलाई कमजोर पार्ने प्रयास भएको ठान्ने धेरै छन्। अनुशासनको नाममा नेताहरु छानिछानी कारबाहीमा पारिएको आभास व्यापक छ।
लोकतान्त्रिक चरित्र कहाँ ?
लोकतान्त्रिक पार्टीमा विधि, प्रक्रिया र आन्तरिक बहसलाई सम्मान गरिनुपर्छ। तर पार्टीभित्र असहमतिको स्वर उठाउने कार्यकर्तालाई दण्डित गरिनु भनेको लोकतन्त्रको आत्मालाई कुण्ठित गर्नु हो। पार्टीको निर्णयप्रति असहमति राख्नेहरुलाई दण्ड दिँदा लोकतान्त्रिक चरित्रभन्दा निरंकुश प्रवृत्ति झल्किन्छ।
निष्कर्ष : डण्डाले अन्तर्घात रोकिन्छ कि विद्रोह बढ्छ ?
नेपाली कांग्रेसभित्र अहिलेको कारबाहीले अन्तर्घातको अन्त्य ल्याउँछ कि झन् आक्रोश र विद्रोह जन्माउँछ, त्यो अहिलेको सबैभन्दा महत्वपूर्ण प्रश्न हो। नेतृत्वले कार्यकर्ताको भावना बुझ्न नसके विद्रोहको लहर बढ्न सक्छ। कार्यकर्ताको मन कुँडिँदा पार्टीको जरा कमजोर हुन्छ, जुन लोकतान्त्रिक पार्टीको लागि शुभ संकेत होइन।
आखिर, ‘रुख’ चिन्ह आफ्नो प्राण सम्झने कार्यकर्ताको निष्ठामा कारबाहीले होइन, संवाद र सम्मानले नै घाउ पुरिन सक्छ।











प्रतिक्रिया