काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
विद्यालय भवन निर्माण कार्यमा रकम हिनामिना गरेको आरोपमा आयोगले तत्कालीन शिक्षा अधिकारी चापागाईंसहित ९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ श्री जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि भुक्तानी लिए अनुसारको काम नगरेको आयोगका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
आयोगका अनुसार जिल्ला शिक्षा कार्यालयका तत्कालीन शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेशप्रसाद भट्टराई, लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सव इन्जिनियर शिवराज राई, जनता उच्च माविका तत्कालीन प्रधानाध्यापक तथा विद्यालय भवन निर्माण समितिका सदस्य हेम्बर बस्नेत, विद्यालय व्यवस्थापन समितका अध्यक्ष तथा भवन निर्माणका सदस्य दिलिपकुमार राई, चर्चबहादुर विश्वकर्मा र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति बबेन्द्र राईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।
जनता उच्च माध्यमिक विद्यालयको ४ कोठे आरसीसी भवन निर्माण गर्नका लागि ३२ लाख १० हजार ८ सय ६४ रुपियाँ लागत लाग्ने अनुमान गरेको थियो । पटक पटक गरेर ३० लाख ५० हजार भुक्तानी लिएर पनि १६ लाख २५ हजार ९४६ मात्र काम गरेर बाँकी रकम हिनामिना गरेको प्रवक्ता पौडेलले बताउनुभयो । आयोगले उनीहरूविरूद्ध फरकफरक बिगो माग गरेको छ ।











प्रतिक्रिया