मौद्रिक नीति भोलि आउने सम्भावना


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का निम्ति मौद्रिक नीति ल्याउन गृहकार्य तीव्र पारेको छ । सम्भवत भोलि शुक्रबार आगामी आर्थिक वर्ष मौद्रिक नीति आउन सक्कने राष्ट्र बैंक स्रोतले जानकारी दियो । मौद्रिक नीतिका लागि केन्द्रीय बैंकको उच्च व्यवस्थापनको बैठक निरन्तर बसिरहेको र बिहीबार साँझ सञ्चालक समितिको बैठक बोलाइएको हुँदा मौद्रिक नीति आउन सक्ने सम्भावना औंल्याइएको हो ।

सामान्यतया आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको एक महिनापछि बजेट कार्यान्वयनका निम्ति आवश्यक पर्ने वित्तीय नीतिका लागि केन्द्रीय बैंकले मौद्रिक नीति आउने गरेको छ । नेपाल राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरे पनि त्यसभन्दा अघि नै आउन सक्ने स्रोतको भनाइ छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको पहिलो मौद्रिक नीति भएका कारण विशेष चासोका साथ हेरिएको छ ।