नेपाली सेनाद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी


काठमाडौँ।

नेपाली सेनाले बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र बाटो खोल्ने कार्यलाई तीव्र रुपमा अघि बढाएको छ।
बुधबार रसुवा जिल्लामा श्रीनाथ गणबाट खटिएको सेनाको टोलीले स्याफ्रुबेसी–टिमुरे सडकखण्डमा बाढीले कटान गरेको स्थानमा ग्याविन जाली लगाएर सडक संरक्षणको कार्य गरेको छ। साथै, रोङ्गा पुल इलाकामा टिमुरेबाट स्याफ्रुबेसीतर्फ आउन अड्किएका करिब ३५० जना स्थानीयलाई अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा वैकल्पिक बाटो बनाई सुरक्षितरूपमा स्याफ्रुबेसीतर्फ पठाउन सहयोग गरेको सेनाले जनाएको छ।

यसैगरी, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–३ लिङलिङ इलाकामा उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी बल नेपालका एक जना घाइते सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

उता, नुवाकोटस्थित शेर गणबाट खटिएको सेनाको टोलीले नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ स्थित त्रिशुली नदी इलाकामा सम्पर्कविहीन भएका व्यक्तिहरुको खोजी कार्यमा सहयोग गर्नुका साथै नदीले कटान गरेका ठाउँमा बाटो मर्मत गरी आवागमन सहज बनाउने कार्यमा सहयोग गरेको छ।

नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र सहयोग कार्यलाई प्राथमिकताका साथ निरन्तर अघि बढाइरहेको जनाएको छ।