काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली आयुर्वेदिक तथा परम्परागत औषधीहरूको विदेश निर्यातको बाटो खुला गर्नुपर्ने आवश्यकता पहिचान गर्दै महत्वपूर्ण निर्णय गर्नुभएको छ । उहाँले आयुर्वेदिक औषधी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा निर्यातयोग्य बनाउन आवश्यक पर्ने कुशल उत्पादन अभ्यास (जीएमपी) मापदण्डको प्रमाणपत्र दिने व्यवस्था मिलाउने निर्णय गर्नुभएको हो ।
नेपालमा परम्परागत औषधी उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरूले जीएमपी प्रमाणपत्रको अभावमा निर्यातको अवसर गुमाइरहेका थिए । औषधी व्यवस्था विभागले अहिलेसम्म एलोप्याथिक औषधीहरूमा मात्र यस्तो प्रमाण दिँदै आएको थियो । आयुर्वेद, होमियोप्याथीलगायतका परम्परागत औषधी उत्पादकहरूका लागि यो प्रमाण नहुँदा विदेशी बजार प्रवेशमा अवरोध आएको थियो ।
मन्त्री पौडेलद्वारा स्वीकृत ८८ ‘औषधी उत्पादन कुशल अभ्यास दोस्रो संहिता’ ८८ ले अब आयुर्वेद र परम्परागत औषधी उत्पादकहरूलाई जीएमपी प्रमाणपत्र पाउने आधार बनाउनेछ । यसअन्तर्गत उत्पादकले उत्पादन प्रक्रिया, भण्डारण प्रणाली, आधुनिक उपकरणको प्रयोग, स्वच्छता, गुणस्तर परीक्षण लगायतका मापदण्ड पूरा गर्नुपर्नेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो निर्णयले नेपाली परम्परागत चिकित्सा प्रणालीमा आधारित औषधी उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने वातावरण तयार पार्नेछ । ‘अब आयुर्वेद र होमियोप्याथी औषधी उत्पादकले पनि स्तरीय उत्पादनको आधारमा निर्यातबाट आम्दानी गर्न सक्नेछन्’ उहाँले बताउनुभयो ।











प्रतिक्रिया