काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो दर ४.१७ प्रतिशत थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत मात्र रहँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.९४ प्रतिशत रहेको छ। गत वर्ष सोही अवधिमा यिनै समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत थियो।
खाद्य समूहमा घ्यू तथा तेलको मूल्य सूचकाङ्क १०.०६ प्रतिशतले बढेको छ भने गैर–मदिराजन्य पेय पदार्थ ५.१३ प्रतिशत र फलफूल ३.५१ प्रतिशतले बढेका छन्। तर, तरकारीको मूल्य ७.०४ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछा–मासुको २.९१ प्रतिशतले घटेको देखिएको छ।
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य ९.४३ प्रतिशतले, कपडा तथा जुत्ता–चप्पलको ६.८२ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, फर्निचर तथा घरायसी सामानको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ४.६८ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रमा मुद्रास्फीति २.९० प्रतिशत र सहरी क्षेत्रमा २.६६ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ४.१८ प्रतिशत मुद्रास्फीति देखिएको छ। त्यसपछि सुदूरपश्चिम ३.८६ प्रतिशत, कर्णाली २.५४ प्रतिशत, मधेश २.५२ प्रतिशत, लुम्बिनी २.३९ प्रतिशत, बागमती २.२९ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा १.७५ प्रतिशत मुद्रास्फीति देखिएको छ।
भौगोलिक क्षेत्रमा हेर्दा हिमाली क्षेत्रमा ४.१८ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ, जुन अन्य क्षेत्रभन्दा उच्च हो। काठमाडौं उपत्यकामा २.७३ प्रतिशत, तराईमा २.५८ प्रतिशत र पहाडमा २.४८ प्रतिशत मुद्रास्फीति रहेको छ।











प्रतिक्रिया