डा.सन्दुक रुइत, जसलाई “दृष्टिको भगवान” भनेर पनि सम्बोधन गरिन्छ, जसले आफ्नो मोतियाबिन्दु शल्यक्रिया विधि मार्फत संसारभर लाखौं व्यक्तिहरूको जीवन परिवर्तन गर्न सफल भएका छन् । तर, यो उपाधिको पछाडि एउटा गहिरो संघर्ष, दृढ संकल्प र सेवा भावको कथा लुकेको छ । नेपालका दुर्गम गाउँदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने उनको यात्राले चिकित्सा क्षेत्रलाई मात्र होइन, मानव सेवालाई नै नयाँ परिभाषा दिएको छ ।
१९५४ सेप्टेम्बर ४ मा ताप्लेजुङ जिल्लाको विकट गाउँ वोलाङ चुङ गोलामा जन्मिएका डा. रुइतको बाल्यकाल कठिनाइले भरिएको थियो । तामोर नदीको किनार र कञ्चनजंघा हिमालको छायाँमा हुर्केका उनी आर्थिक तथा व्यक्तिगत दुःखद घटनाहरूको साक्षी बने । उनले आफ्नो भाइलाई डिसेन्टरी र बहिनीलाई ज्वरोका कारण गुमाए । तर, बहिनी यांग्लाको क्षयरोगका कारण मृत्यु भएको घटनाले उनलाई चिकित्सक बन्न प्रेरित ग¥यो । तिब्बती भाषामा ’सन्दुक’ को अर्थ “आकाशको ड्रागन” हुन्छ, जुन नामले नै उनीभित्रको जोश र उद्देश्य झल्काउँछ ।
उनी बाल्यकालदेखि नै किताब र संगीतमा रुचि राख्थे र एक प्रतिभाशाली विद्यार्थी थिए । उनी सात वर्षको उमेरमा भारतको दार्जिलिङमा सेन्ट रोबर्ट स्कूलमा पढ्न गए । तर, भारत–चीन युद्धका कारण उनले पढाइ रोक्नुप¥यो र काठमाडौं आएर सिद्धार्थ बनस्थली स्कूलमा पढ्न थाले । उनले कक्षा ७ बाट सीधै कक्षा ९ मा उक्लिएर आफ्नो बौद्धिक क्षमता प्रमाणित गरे । सन १९७० मा एसएलसी परीक्षा प्रथम श्रेणीमा पास गरेपछि उनले त्रिचन्द्र कलेजमा अध्ययन गरे । त्यसपछि भारतको किंग जर्ज मेडिकल युनिभर्सिटीमा एमबीबीएस पढ्न छात्रवृत्ति पाए । उनको ज्ञानको यात्रा यहीँ थामिएन, उनले प्रतिष्ठित एआईआईएमएस, दिल्लीबाट नेत्र रोग विशेषज्ञको एमडी डिग्री पनि प्राप्त गरे ।

चिकित्सकीय यात्राको सुरुवात उनले बीर अस्पतालमा सामान्य चिकित्सकका रूपमा गरे । त्यसपछि नेपाल आँखा अस्पतालमा ८ वर्षसम्म कार्य गर्दै उनले नेत्र चिकित्सा क्षेत्रमा गहिरो अनुभव सँगाले । सन १९८७ मा उनी अष्ट्रेलिया गए, जहाँ उनले मोतियाबिन्दु शल्यक्रियामा सस्तो, प्रभावकारी र सरल तरिकाको खोज सुरु गरे । यस प्रयासको सुरुवात स्वरुप जुन १९९४ मा काठमाडौंमा तिलगंगा आँखा अस्पतालको स्थापना भयो । अष्ट्रेलियन नेत्र चिकित्सक डा.फ्रेड होलोज र अन्य सामाजिक कार्यकर्ताहरूको सहयोगमा डा.रुइतले यो अस्पतालमार्फत गुणस्तरीय र सस्तो आँखाको उपचार नेपालमै उपलब्ध गराए ।
तिलगंगा अस्पतालको सबैभन्दा ठूलो उपलब्धि हो ‘फ्रेड होलोज इन्ट्राऑक्युलर लेन्स’ को निर्माण, जसले मोतियाबिन्दु उपचारमा क्रान्ति ल्यायो । साथै, डा. रुइतले विकास गरेको ‘स्माल इन्सिजन क्याट¥याक्ट सर्जरी’ (एसआईसीएस) विधि ग्रामीण र दुर्गम क्षेत्रका लागि उपयुक्त समाधान बन्यो । यति मात्र होइन, नेपाललाई आँखाको उपचारमा आत्मनिर्भर बनायो । यो विधि विश्वका कैयौँ मुलुकमा अपनाइएको छ ।
नेपालमा मात्र सीमित नरही डा. रुइतले आफ्नो सेवा अफ्रिका, दक्षिण अमेरिका, दक्षिण एसिया र प्रशान्त द्वीपहरूसम्म विस्तार गरे । डा.ज्योफ तबिनसँग सहकार्य गर्दै उनले भूटान, म्यानमार, बंगलादेश, भारतलगायतका देशहरूमा मोतियाबिन्दु शल्यक्रिया कार्यक्रमहरू सञ्चालन गरे । उनले विकास गरेको शल्यक्रिया प्रविधिलाई “रुइटेक्टोमी” भनेर चिनिन्छ, जुन आज विश्वभरि प्रयोग भइरहेको छ । साथै, उनले काठमाडौंस्थित सस्तो लेन्स उत्पादन गर्ने कारखानाबाट वार्षिक ५ लाख इन्ट्राआक्युलर लेन्स उत्पादन गरिरहेका छन्, जुन ७० भन्दा बढी देशमा निर्यात भइरहेको छ ।
उनको अतुलनीय योगदानको कदर स्वरूप उनले २००६ मा रामोन म्याग्सेसे पुरस्कार, २००७ मा प्रिन्स महिदोल अवार्ड र २०१८ मा भारतको पद्मश्री सम्मान प्राप्त गरे । सन् २०२३ मा उनलाई बहराईनको “इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटी” बाट पनि सम्मान गरियो । उनीमाथि नेशनल जियोग्राफिक, अल जजिरा जस्ता अन्तर्राष्ट्रिय मिडिया सञ्जालले वृत्तचित्र बनाएका छन्, जसले उनको कार्यलाई विश्वसामु उजागर गरेको छ ।
डा.रुइतले संसारमा कोही पनि मोतियाबिन्दुका कारण दृष्टिविहीन हुननपरोस् भन्ने सपना देखेको छ । उनको अथक प्रयासहरूले लाखौंको जीवन उज्यालो बनाइसकेको छ । उनी अझै थाकेका छैनन् । उनी स्वास्थ्य सेवा पहुँच सबैका लागि सुलभ र सस्तो बनाउन प्रतिबद्ध छन् । उनको धरोहर केवल शल्यक्रिया वा लेन्स निर्माणसम्म मात्र सीमित छैन । उनले परिवर्तन गरेका जीवनहरू, तोडेका सामाजिक रेखाचित्रहरू र भविष्यका लागि देखिएको स्पष्ट दृष्टिकोण नै उनको साँचो सम्पत्ति हो । उनी एउटा यस्ता नायक हुन्, जसले अन्धकारलाई उज्यालोमा परिणत गरेका छन् । डा. रुइतको जीवन कथा केवल चिकित्सा विज्ञानको मात्र होइन, मानवता र आशाको पनि कथा हो ।











प्रतिक्रिया