सिन्धुली ।
सिन्धुलीको सुनकोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा लगाईएको तालाबन्दीका कारण गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको छ । सुनकोसी गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्षले गएको असार १६ गते प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा तालाबन्दी गरेका थिए । एक हप्ता सम्म तालाबन्दी हुदाँ प्रशासनिक र शिक्षा शाखाले गर्नुपर्ने महत्वपूर्ण कामहरु प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
सेवाग्राहीको सहजताको लागि गाउँपालिकाको अन्य कोठाबाट सेवा दिए पनि कतिपय महत्वपूर्ण कागजातहरु आफ्नो कार्यकक्षमा रहेकाले दैनिक सेवा प्रवाहमा असर परेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । प्रशासनिक कामकाज जसोतसो चले पनि शिक्षा शाखाबाट हुने शिक्षकहरुको तलब, भत्ता निकासा, विभिन्न योजनाहरुको भुक्तानी लगाएत धेरै कामहरुमा असर परेको गाउँपालिकाले जनाएको छ ।
शिक्षा शाखामा लगाइएको तालाबन्दीका कारण विद्यालयको कक्षा ५ र ८ का परिक्षा केन्द्राध्यक्ष, कपि परिक्षण, समपरिक्षण गर्ने शिक्षकहरुको भत्ता, परिक्षा समितिको बैठक, प्रधानाध्यापकहरुको बैठक भत्ता, शिक्षकहरुको नपुग छुट तलब निकासा र आईसिटी योजनाहरुको भुक्तानी रोकिएको प्रमुख प्रशासकीय अधिकृत दर्जीले बताउनुभयो । ‘गएको एक हप्ता देखि तालाबन्दी छ । आर्थिक बर्षको अन्तिम समय भएकाले हामीले प्रशासनिक कामकाज अन्यत्र कोठामै बसेर सेवा प्रवाह गरी रहेका छौं । तर शिक्षा शाखाको भने धेरै कामकाजमा प्रभाव परेको छ ।
कागजपत्र कोठामै थुनिएकाले आज भोली नै गर्नुपर्ने धेरै काम रोकिएको छ । यसले गर्दा शिक्षकहरुलाई असर परेको छ’ उहाँले भन्नुभयो । आफुँहरुले राखेको प्रस्तावहरुमा सहमती नभएकाले तत्काल ताला खोल्ने अवस्था नरहेको गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोइरालाले बताउनुभयो । प्रगतशिल माविमा भएको अनियमितता र भुक्तानीको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतले प्रधानाध्यापक सरीता चौलागाईलाई स्पष्टीकरण सोधेपछि प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा तालाबन्दी गरिएको हो । विद्यालयको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास र गाउँपालिकामा उजुरी परेको छ ।











प्रतिक्रिया