म आज पनि शरीरमा त्यो आगो बोकेर बाँचिरहेछु
काठमाडौं ।
रौतहटको चर्चित इँटाभट्टा नरसंहार प्रकरणमा कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ । गत १४ जेठमा अदालतको आदेशपछि आलम १५ वर्षपछि नख्खु कारागारबाट रिहा भए । तर, अहिले घटनाका प्रत्यक्षदर्शी गौरीशंकर राम चमार पुनः सार्वजनिक भएर आवाज उठाउनुभएको छ । रामले अदालतको फैसलामाथि प्रश्न उठाउनुभएको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको उक्त घटनामा बम विस्फोटपछिका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएको अभियोग आलममाथि लागेको थियो । तर, न्यायाधीश खुसीराम थारू र अर्जुन महर्जनको इजलासले पर्याप्त प्रमाण नभएको भन्दै आलमलाई सफाइ दियो । प्रत्यक्षदर्शी रामले खुलासा गर्दै भन्नुभयो– ‘म बाँचेको कारणले मात्रै आज कुरा भन्न पाएको हुँ ।’
भारतको बिहार, सीतामढी घर भई रौतहटको राजा इँटाभट्टामा मजदुरी गर्न आएका राम अहिले काठमाडौंमा आएर आफ्नो भोगाइ सुनाउँदा रोएरै भक्कानिन पुग्नुभएको थियो । उहाँले भन्नुभयो– ‘त्यस दिन हामी तीन जना मजदुर थियौं । मलाई बम बनाउने ठाउँ नजिक बोलाएर पैसा दिने बहाना गरियो । म ढोकानजिक पुग्दै गर्दा बम पड्कियो । शरीरमा आगो लाग्यो । म बौलाहाझैँ भागेँ, पछाडिको खाल्डोमा पानी हालेँ । त्यसपछि बेहोस भएँ । होस खुलेको थाहा छैन, तर जब आँखामा झल्को आयो, आमाको स्वर सुनेँ यो सीतामढी हो बाबु, म तिमीलाई अस्पताल लगिरहेकी छु ।’
रामले अस्पतालमा तीन महिनासम्म उपचार गराउनुपरेको र त्यसमा साढे ३ लाख भारतीय रुपियाँ खर्च भएको बताउनुभयो । रामले न्याय माग्ने क्रममा अदालतमा बयान दिँदा आफूमाथि आलम पक्षबाट धम्कीहरू आइरहेको पनि उल्लेख गर्नुभएको छ । उहाँको अनुहार, हात र शरीरका विभिन्न भागमा अहिले पनि घाउका चिह्न देखिन्छन् ।











प्रतिक्रिया