तीन करोड जनसंख्या मध्ये एक करोड विदेश पलायन : कोशी प्रदेश सभामुख विष्ट

1.69k
Shares


उदयपुर ।

कोशी प्रदेशसभाका सभामुख अम्बर बहादुर विष्टले नेपालको तीन करोड जनसंख्या मध्ये करिब एक करोडको हाराहारमिा मानिसहरु विदेश पलायन भएकोले उद्योगी व्यवसायी क्षेत्रमा सोच अनुसार प्रगति नभएको बताएका छन् ।

शनिबार उदयपुरको गाईघाटको ब्रह्मा कुमारी राजयोग सवा केन्द्रको सभाहलमा आयोजित सो उदयपुर जिल्ला उद्योग वाणिज्य संघको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेसनमा प्रमुख अतिथि रहेका सभामुख विष्टले मानिस नभएपछि व्यापार व्यवसाय घटेर जाने र व्यापार व्यवसाय फस्टाउन सक्दैन । किन्ने मानिस नभएपछि हामीले उत्पादन गरेको कुरा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिदैन । अहिले पनि हामीले नियालेर हेर्दा बजारमा सहज स्थिति नभएको बताए ।

आन्तरिक राजस्व कार्यालय लाहान सिराहाका प्रमुख कर अधिकृत भीमप्रसाद काफ्लेले उद्योगी व्यवसायीहरुले आफूले बुझाउनु पर्ने कर तथा राजस्व तोकिएको समयभित्र बुझाएर जरिवाना तथा पछि आउने समस्याबाट जोगिन अहिले नै हरहिसाब लगायतका सबै कुरा व्यवस्थित पारेर राख्न र बेलैमा कर तिरेर असल व्यवसायीका रुपमा आफूलाई सबैका सामु उभ्याउन अनुरोध गरेका छन् ।


जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणी कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कुमार प्रसाद घिमिरेले स्वागत मन्तव्य दिएका थिए ।अध्यक्ष कार्कीले जिल्ला उद्योग वाणिज्य संघको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै देशमा अस्थिरता कायमै रहेकोले आर्थिक मन्दलिे देशको व्यापार व्यवसाय कमजोर भएको र राजस्व समिति देशको विभिन्न कानुनी निकायहरुको अनुगमन व्यवस्थाले व्यापारमा सहजता नभएको बताए ।

उनले ऐलानी जग्गामा घर बनाएर बसेका व्यवसायीहरुको व्यवसाय दर्ताकालागि वडा कार्यालयबाट दर्ताकालागि सिफारिस नदिने गरेको कारण व्यवसायीहरु ठूलो मार्कामा परेकाले यस विषयमा प्रदेश सभामुखले आवश्यक कुरा बुझेर सिफारिस गरिदिनु पर्ने बताए ।

उद्योगी व्यवसायीको करका बारेमा भोग्नु परेको समस्या तथा आफ्नो भौतिक संरचना नहुँदा भोग्नु परेको समस्याका बारेमा जानकारी दिएका थिए । कार्यक्रम संचालक सुनिल साहले संघको प्रगति प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा कटारी चेम्बर अफ कमर्सका अध्यक्ष पवन श्रेष्ठ, ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र जनकपुरकी प्रमुख सिर्जना दिदी, त्रियुगा नगरपालिका वडा नं ९ का वडाध्यक्ष राजकुमार दनुवार लगायतका वक्ताहरुले मन्तव्य दिएका थिए ।

दोश्रो अधिवेसनले आज नै सर्वसम्मत रुपले आगामी तीन वर्षकालागि नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । तर यो समाचार तयार पारन्जेलसम्म नयाँ कार्यसमितिको नामावली घोषणा गरिएको छैन । राती अबेरसम्ममा नयाँ कार्यसमितिको घोषणा भैसक्ने बताइएको छ ।