हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न


काठमाडौँ।

नेपाली सेनाको सि.सं. १३ औं हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ। नेपाली सैनिक वार कलेजमा २०८१ फाल्गुण २२ गतेबाट सञ्चालन भएको उक्त तालिम बुधबार जंगीअड्डामा एक कार्यक्रमकाबीच प्रधान सेनापति अशोकराज सिग्देलल समापन गरेका हुन्।

तालिममा महासेनानी दर्जाका ३५ जना अधिकृत (महिला २ र पुरुष ३३) को सहभागिता रहेको थियो। समापन कार्यक्रममा प्रमुख शिक्षक उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत मन्तव्य राख्दै तालिमको उद्देश्य, पाठ्यक्रम र उपलब्धिहरूको बारेमा जानकारी दिएका थिए।

यस तालिममा महासेनानी सुरज बैदवार समग्रमा उत्कृष्ट घोषित (Best Student Officer) भएका छन् भने सर्वोत्कृष्ट सोधपत्र पुरस्कार महासेनानी उत्तम सापकोटाले प्राप्त गरेका छन्।

समापन समारोहमा बलाधिकृत रथी निर्मल कुमार थापा, अन्य रथीबृन्द, अधिकृतहरू तथा शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।

नेपाली सेनामा सैनिक अधिकृतहरुका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यस तालिम वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको छ ।