त्रिवि विमानस्थलनजिकको इन्धन डिपो सार्न ढिलाइ


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक सिनामङ्गलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ। मन्त्रिपरिषद्ले २०८१ साउन २८ मा डिपो सुरक्षित स्थानमा सार्ने निर्णय गरे पनि नागरिक उड्डयन प्राधिकरण क्यानले जग्गा हस्तान्तरण नगर्दा प्रक्रिया अघि बढ्न सकेको छैन।

नेपाल आयल निगमका अनुसार डिपोको विस्तृत परियोजना प्रतिवेदन डिपिआर अन्तिम चरणमा छ। नयाँ डिपोका लागि नेपाली सेनाको गौचरनस्थित गल्फ कोर्स क्षेत्रमा ६० रोपनी जग्गा छुट्याइएको छ। तर, साइट क्लियरेन्स नहुनु, सेनाले भवन नहटाउनु, र निर्माण अवधिभरको शुल्क छुटको विषयमा सहमति नहुँदा ढिलाइ भएको हो।

डिपिआर अनुसार नयाँ डिपोमा पाँच हजार किलोलिटर क्षमताका तीन ट्याङ्की बनाइनेछ र लागत छ देखि सात अर्ब लाग्ने अनुमान छ। असारको अन्तिमसम्म डिपिआर पूरा भई साउनदेखि निर्माण सुरु गर्ने योजना रहेको निगमले जनाएको छ।