कुहिरोका कारण सुकेटार विमानस्थलको उडान ठप्प


काठमाडौं ।

ताप्लेजुङको सुकेटार विमानस्थलमा खराब मौसमका कारण हवाई सेवा ठप्प भएको छ। नेपाल वायु सेवा निगमले चार महिनापछि पुनः सुरु गरेको उडान जेठ ३० यता सञ्चालन हुन सकेको छैन।

स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार असारदेखि कुहिरो र न्यून दृश्यता -भिजिबिलिटी- का कारण चार उडान रद्द भएका छन्।

नियमित सोमबार र शुक्रबार हुने काठमाडौँ–ताप्लेजुङ उडान रद्द हुँदा यात्रुहरू सास्तीमा परेका छन्। मौसमका कारण उडानको अनिश्चितताले यात्रुहरू वैकल्पिक यातायात खोज्न बाध्य भएका छन्।

बारम्बार उडान प्रभावित हुने समस्यालाई दीर्घकालीन रणनीतिबाट समाधान गर्नुपर्ने स्थानीयको माग छ।