काठमाडौं।
पाकिस्तानी दूताबासले १०२ विद्यालयका १९५ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । एम्बेसेडर अफ पाकिस्तान स्कलरशीप कार्यक्रमअन्तर्गत बिहीबार राजधानीमा आयोजित एक समारोहबीच उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल परिवार पार्टीका अध्यक्ष तथा संघीय सांसद एकनाथ ढकालले देशभरिका विभिन्न विद्यालयबाट छनोट भएका १९५ जना जेहेन्दार नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन्। कार्यक्रममा एक होनहार विद्यार्थीलाई लगातार राम्रो शैक्षिक प्रदर्शन गरेबापत ल्यापटप पुरस्कारस्वरूप प्रदान गरिएको थियो।
कार्यक्रममा सांसद ढकालले शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै यो सहयोग दुई देशबीचको मित्रवत् सम्बन्धको प्रतिबिम्ब भएको बताए। ढकालले युवा पुस्तामा साझा दृष्टिकोणको भावना विकास गर्न पाकिस्तानको सहयोगले ठूलो योगदान दिने विश्वास व्यक्त गरे। साथै, नेपाल–पाकिस्तान सम्बन्धलाई शिक्षा बाहेक अन्य क्षेत्रहरूमा समेत विस्तार गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

पाकिस्तानका राजदूत अबरार एच। हाश्मीले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै नेपालमा उच्च माध्यमिक तहसम्मको शैक्षिक सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले छात्रबृत्ति कार्यक्रम नेपाली विद्यार्थीको सफलताको उत्सव र साझा उत्तरदायित्वको प्रतिविम्ब भएको उल्लेख गर्दै नेपाली युवालाई अध्ययन, खेलकुद तथा सामाजिक गतिविधिमा प्रेरित गर्नु दुई देशबीचको सहयोगको महत्वपूर्ण अंश भएको बताए ।

पाकिस्तान दूतावासद्वारा सञ्चालित उक्त छात्रवृत्ति कार्यक्रम सन् २०१३ देखि नियमित रूपमा हुँदै आएको छ।











प्रतिक्रिया