सरकारलाई खर्च गर्नै कठिन, १८ दिनमा १३९ अर्ब खर्च गर्ने दबाब

7.99k
Shares

काठमाडौं

चालू आर्थिक वर्ष २०८१/८२ मा पुँजीगत खर्चको संशोधित लक्ष्यसमेत भेट्टाउन सरकारलाई कठिन देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा पुँजीगत खर्चका निम्ति ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । तर, बजेटको अर्धवार्षिक समीक्षा गर्दै विनियोजित बजेटको पुँजीगततर्फ ८५ प्रतिशत अर्थात् २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख रुपियाँ खर्च हुने अनुमान गरेको थियो ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट खर्चको लक्ष्य पुनः संशोधन गर्दै पुँजीगत खर्च ८३ दशमलव ४ प्रतिशत अर्थात् २ खर्ब ९३ अर्ब ८६ करोड रुपियाँ हुने अनुमान प्रस्तुत गर्नुभएको थियो । तथापि, आर्थिक वर्ष सकिन तीन साताभन्दा कम समयमात्रै बाँकी रहँदा दोस्रोपटक संशोधित लक्ष्यको आधामात्रै पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रकको तथ्यांकअनुसार बिहीबारसम्म ४४ प्रतिशत अर्थात १ खर्ब ५४ अर्ब ९७ करोड ५४ लाख रुपियाँमात्र खर्च भएको छ ।

पुँजीगत खर्चको संशोधित लक्ष्य भेट्टाउन असार महिनामा दैनिक ५ अर्ब रुपियाँभन्दा बढी खर्च गर्नुपर्ने थियो । तर, १२ दिनमा करिब ११ अर्ब रुपियाँमात्रै खर्च भएपछि अब दैनिक औसत ७ अर्ब रुपियाँ खर्च गर्नुपर्ने हुन्छ । सरकारले विकास खर्च बढी देखाउन हरेक वर्ष व्यापक रकमान्तर गर्दै आएको छ । यस आर्थिक वर्ष पनि बजेट खर्च तथ्यांक वृद्धि गर्न रकमान्तर र थप बजेट निकासा गरिएको छ । तथापि, खर्चको परिणाम भने देखिएको छैन । अर्थ मन्त्रालयले गत चैत २९ गतेपछि रकमान्तर र थप बजेट निकासाको तथ्यांक सार्वजनिक गरेको छैन । अहिले दैनिक १ अर्ब रुपियाँको हाराहारीमा भएको पुँजीगत खर्च त्यसैको परिमाण भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपाल समाचारपत्रसँग कुरा गर्दै रकमान्तर र थप बजेट निकासाको तथ्यांक छिट्टै सार्वजनिक गरिने बताउनुभयो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार चालू आर्थिक वर्षको अन्तिम चौमासिकको पहिलो महिना ४६ वटा निकायमा सवा ३ अर्ब रुपियाँ रकमान्तर र थप बजेट निकासा भएको थियो । त्यसपछिका साढे २ महिनामा रकमान्तर र थप बजेट निकासाले निरन्तरता पाएको छ । ‘असारे विकास’ले बदनाम आर्थिक वर्षको अन्तिममा हुने रकमान्तर र थप बजेट निकासाका बाबजुद पनि सरकारको विकास खर्चको तथ्यांक कमजोर देखिएको छ ।

अर्थ मन्त्रालयको दोस्रोपटकको संशोधित अनुमानअनुसार चालू वर्षमा कुल बजेट खर्च ८९ दशमलव ४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । जसमध्ये चालू खर्च ८८ दशमलव ५ प्रतिशत, पुँजीगत खर्च ८३ दशमलव ४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९७ दशमलव ६ प्रतिशत खर्च हुने प्रक्षेपणसहित विनियोजन बजेटको ८९ दशमलव ४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड बजेट खर्च हुने अनुमान छ । तर, हालसम्म कुल बजेटको ७२ दशमलव शून्य १ प्रतिशत अर्थात् १३ खर्ब ३९ अर्ब ५७ करोड २८ लाख रुपियाँ खर्च भएको छ । साथै राजस्व संकलन १२ खर्ब ६७ अर्ब ३९ करोड हुने अनुमान गरिएकोमा हालसम्म १० खर्ब ४३ अर्ब ३ करोड ५ लाख रुपियाँ संकलन हुँदा २ खर्ब ६६ अर्ब ८१ करोड ३६ लाख रुपियाँ बजेट घाटा रहेको छ ।