धादिङ ।
वर्षा सुरु भएसँगै धादिङ जिल्लामा पृथ्वी राजमार्ग अन्तर्गत जोखिमयुक्त स्थानहरूको स्थलगत अनुगमन सुरु गरिएको छ। अघिल्ला वर्षहरूमा वर्षातका कारण पहिरो र सडक भासिएर दुर्घटना हुने गरेकोले यस वर्ष जोखिम न्यूनीकरणका लागि विशेष पहल गरिएको हो।
धादिङ जिल्ला समन्वय समितिको संयोजनमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सुरक्षा निकायका प्रतिनिधि र सडक विस्तार आयोजनाका अधिकारीहरूले अनुगमन गर्दै सडक विस्तार भइरहेको ठाउँहरूमा सुरक्षा व्यवस्था र चुनौतीहरूबारे समीक्षा गरेका छन्। मनसुन अवधिभर सम्भावित पहिरो तथा जमिन भासिने क्षेत्रहरूमा कुनै सडक विस्तार कार्य नगर्ने सहमति समेत भएको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले जोखिमयुक्त क्षेत्रमा सवारी चलाउँदा उच्च सतर्कता अपनाउन र विपद् अवस्थामा तत्काल राहतको तयारी भएको जानकारी दिनुभयो। कमजोर भौगोलिक संरचनाका कारण वर्षातमा सडक र पुल विस्तारका काम चुनौतीपूर्ण रहेको र कामको प्रगति अपेक्षा अनुसार हुन नसकेको आयोजनाका प्रमुखहरूले बताएका छन्।
यस अनुगमनले मनसुनमा दुर्घटना न्यूनीकरण र सुरक्षित सवारी सञ्चालनमा मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।











प्रतिक्रिया