काठमाडौं।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय सुनुवाइमा उजुरी परेको छ ।
न्यायपरिषद्को गत जेठ २७ गते बसेको बैठकले पोखरेललाई सर्र्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनवाइ समितिले पोखरेलका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गरिसकेको अवस्थामा समितिमा आइतबार उजुरी परेको हो ।
टिबी कार्कीले सुनुवाइ समितिमा पोखरेल सर्वोच्च अदालतको न्यायाधीश हुन अयोग्य रहेको भन्दै उजुरी दर्ता गर्नुभएको थियो । कार्कीको उजुरी समितिमा २१ नम्बरमा दर्ता भएको छ । उजुरीकर्ता कार्कीले पोखरेलले उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासले तथ्य र प्रमाणसहित सहकारी ठगीमा पुर्पक्ष लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा गरेका टिप्पणी र अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यस कार्यले अदालतको आदेश नमानेको उल्लेख गरिएको छ । सो कार्य गरी पोखरेल अदालतको आदेशविरुद्ध उभिएको र उहाँको सो कार्यले भविष्यमा आम सर्वसाधारणले न्याय पाउनेमा शंका उब्जिएको उजुरीकर्ता कार्कीको जिकिर रहेको छ ।
२०८२ जेठ २३ गतेका दिन राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई थुनामा पठाएपछि सो बारेमा छलफल गर्न वरिष्ठ अधिवक्तासहितको टोली पार्टी कार्यालयमा बोलाएको थियो । सो बैठकमा न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलसमेत सामेल हुनुभएकोलाई उजुरीको मुख्य विषय बनाएको थियो । उजुरीमा भनिएको छ, ‘एउटा पार्टी कार्यालयमा गएर उहाँले अदालतले थुनामा पठाएको व्यक्तिको पक्षमा वकालत गर्नु कत्तिको सान्दर्भिक हो ? कत्तिको नैतिक अथवा अनैतिक हो ? प्रश्न चिह्न उठेको छ । वरिष्ठ अधिवक्ता पोखरेलले उक्त बैठकमा सहकारीको पैसा कानुनविपरीत कम्पनीमा आयो र त्यसलाई गोर्खा मिडियाले जीबी राईको सर्ट टर्म लोन भनेर भनेपछि कम्पनी त ऋणी भएन भए पनि जीबी होलान्, रविलाई किन तानेको ? प्रश्न गर्नुभएको थियो ।’











प्रतिक्रिया