सबै सेवाग्राहीले अनलाइन सर्वेक्षण फारम भर्नुपर्ने

4.51k
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सुधार गर्न शुरू गरेको छ । कार्यालयले विद्युतीय सर्वेक्षण फारम तयार गरेको छ । अध्यागमन कार्यायलबाट सेवा लिन सेवाग्राहीले अनिवार्य फारम भर्ने व्यवस्था सुरुवात गर्ने भएको छ ।
कार्यालयले सम्भवतः आइतबारबाट सबै सेवाग्राहीले अनलाइन सर्भे फारम भर्ने व्यवस्था गर्न लागेको हो । फारममा सेवाग्राहीले लिने सेवा कस्तो भएको छ त्यसबारेमा बारेमा विद्युतीय फारम भर्नुपर्ने व्यवस्था गरेको छ । सफ्टवेयरमा कार्यालयको सेवाको बारेमा विद्युतीय फारम भर्नुपर्ने छ ।

ट्याबमा उल्लेख गरिएको फारममा उत्कृष्ट, सन्तोषजनक, औसत सेवाको बारेमा जानकारी दिनुपर्नेछ । सर्बे फारम भर्दा उत्कृष्टमा हरियो, सन्तोषजनकमा पहेंलो र औषतमा रातो रङको संकेत उल्लेख गरेको छ । तीन बँुदामध्ये आफूलाई लागेको विषयमा क्लिक दिनुपर्ने व्यवस्था छ । सेवाग्राहीले दिएको फिडब्याकको आधारमा कार्यालयले विश्लेषण गर्नेछ ।
विमानस्थबाट वैदेशिक यात्रा गर्ने सबै यात्रुले सेवा लिएर गन्तव्यतिर जानुअघि सर्वेक्षण फारम भर्नुपर्ने व्यवस्था गरेको छ ।

विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले सेवाग्राहीले प्राप्त गरेको सेवाको अवस्थाबारे विश्लेषण गरी कमजोर विषय सुधार गर्ने र उत्कृष्टलाई कार्यान्वयन गर्न विद्युतीय सर्वेक्षण फारम भर्ने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘भिजिट भिसा प्रकरणपछि देखिएको अन्योलतालाई व्यवस्थित गर्दै चुस्त सेवा दिन फारम भर्ने व्यवस्था गर्न लागेका हौं ।’

‘कार्यालयले करिब २० वटा काउन्टरमा विद्युतीय सर्वेक्षण फारम भर्ने व्यवस्था गर्नेछ । सकेसम्म आज, नभए आइतबारसम्म सेवा आरम्भ गर्नेछौं’ –उहाँले भन्नुभयो । विद्युतीय फारममा सेवा दिने व्यवस्था शुरू भएपछि सेवाग्राहीलाई कस्तो सुविधा दिएको छ भन्ने विषयमा विश्लेषण गरी त्यसलाई कार्यान्वयन गर्ने तयारी गरेको छ ।

विमानस्थल कार्यालय प्रमुख सहसचिव तीर्थ भट्टराई र केही कर्मचारीले भिजिट भिसामा सेटिङ गरी करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेपछि बदनाम बनेको अध्यागन कार्यालय सुधार गर्न नयाँ प्रविधि शुरू गरेको हो ।
कार्यालयका अधिकृत कोइरालाले सुधारको पहिलो कदम विद्युतीय सर्वेक्षण फारम भएको बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीलाई कुनै किसिमको गुनासो आउने वातावरण रोक्न र भित्र देखिएका अनियमितता नियन्त्रण गर्न सुधारको योजना अघि बढाएको हो । सोही आधारमा कार्यालयको पहिलो कदम विद्युतीय सर्वेक्षण फारम भएको उहाँको भनाइ थियो ।

अख्तियारले अध्यागमन कार्यालयमा छापा मारेपछि कर्मचारी प्रशासन महाशाखाले अहिलेसम्म दुईपटक गरी ९ नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र १ सहायक कम्प्युटर अपरेटरलाई तानेर अन्यत्र पठाएको छ । यसै गरी कार्यालयले वैदेशिक रोजगारीको सिलसिलामा वा भिजिट भिसामा ठगीमा परेमा वा पर्न लागेको शंका लागेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा प्रदेशमा रहेको श्रम तथा रोजगार कार्यालयहरूमा वा वैदेशिक रोजगार विभागमा तत्काल उजुरी गर्न आग्रह गरेको छ ।

विदेश यात्रा गर्दा नेपालको विमानस्थलबाट मात्र यात्रा गर्न आग्रह गरेको छ । भारत वा अन्य तेस्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकको यात्रा गर्दै हुनुहुन्छ भने नेपाली राजदूतावासबाट जारी हुने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएरमात्र यात्रा गर्न अनुरोध गरेको छ । महिलाको हकमा भारतको विमानस्थल भएर तेस्रो मुलुक यात्रा गर्दै हुनुहुन्छ भने थप सजकता एवं सावधानी अपनाउन आग्रह गरेको छ ।