लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा: गृहमन्त्री लेखक


काठमाण्डौं। 

 गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उनले समाजमा लागूऔषधको अवैध कारोबारदेखि दुर्व्यसनले अवस्था भयावह रहेको भन्दै त्यसको नियन्त्रणका लागि सबै सङ्गठित हुनुपर्नेमा जोड दिए ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताए।

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने मन्त्री लेखकको भनाई थियो ।

“बर्सेनि ठूलो धनजनसहित मुलुकलाई अपूरणीय क्षति पु¥याउने प्रमुख भूमिकामा रहेको लागुपदार्थको ओसारपसार, भण्डारण र सेवनको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजका बीच सहयोग र सहकार्य हुन जरुरी छ ।” मन्त्री लेखकले भने–“ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनीकरण तथा नियन्त्रणमा सबैभन्दा नजिक जोडिने अभिभावकसहित परिवारका सदस्य, विद्यालय परिवार र स्थानीय तहको विशेष ध्यान जान आवश्यक छ ।”

गृहमन्त्री लेखकले यसअघि जस्तै यस वर्ष आगामी असार ६ देखि १२ गतेसम्म देशव्यापी रुपमा मनाउन लागेको सो दिवसलाई परिणाममुखी बनाउन सबैसँग आग्रह समेत गरे ।

लागुऔषधका कारण समाजमा परेका दुष्प्रभाव न्यूनीकरण तथा नियन्त्रणका लागि व्यक्ति स्वयं सचेत र सजग हुनुपर्नेमा जोड दिँदै मन्त्री लेखकले अभिभावक र शिक्षकबीच विद्यालयमा नियमितजसो अन्तरक्रिया हुनुपर्ने, विद्यालय तहको पाठ्यक्रममा लागुऔषधसम्बन्धी विषय समावेश गर्नुपर्ने, समग्र राष्ट्रलाई पिरोलिरहेको यससँग सम्बन्धित सञ्जाल र दुष्चक्रलाई तोड्नुपर्ने र प्रचारप्रसारको कामर्लाइ अभियानका रुपमा सञ्चालन गर्नुपर्छ ।”

आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि मन्त्री लेखकले लागूऔषध, आत्महत्या, सडक दुर्घटना र साइबर क्राइम थप चुनौतीका रुपमा देखा परेको बताउँदै नियन्त्रणका लागि मन्त्रालय प्रयासरत रहेको बताए । “ धेरै अपराधसित लागु औषध जोडिएको देखिन्छ ।” उनले भने–“ त्यसको नियन्त्रणका लागि प्रयासरत रहेपनि अपेक्षा अनुसार नियन्त्रण गर्न सकिएको छैन ।”