काठमाडौं।
नेपालको स्वास्थ्य सेवा क्षेत्रलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउने उद्देश्यसहित मेड आईक्यू प्रा.लिले विभिन्न सफ्टवेयरहरू विकास गर्दै आएको छ । यसैक्रममा कम्पनीले हालै एक पत्रकार ब्रिफिङमार्फत ‘हस्पिटल अपरेटिङ सिस्टम (एचओएस)’ नामक नयाँ सफ्टवेयरको प्राविधिक पक्ष सार्वजनिक गर्दै स्वास्थ्य सेवा प्रवाहमा ल्याउने रणनीति प्रस्तुत गरेको छ ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले एचओएस सफ्टवेयरलाई नेपाल सरकारद्वारा २०८१ सालमा जारी गरिएको ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१’ को पूर्ण पालना गर्दै तयार पारिएको जानकारी दिए । उनीहरूका अनुसार यो सफ्टवेयरले विद्यमान स्वास्थ्य संस्थाहरूलाई प्रविधिसँग जोड्दै सेवा गुणस्तरमा सुधार ल्याउनेछ ।
कम्पनीका अनुसार एचओएस सफ्टवेयरको माध्यमबाट अस्पताल तथा स्वास्थ्य संस्थाले वेबसञ्जालमार्फत जहाँसुकैबाट डेटा पहुँच गर्न सक्छन् । साथै, विरामी व्यवस्थापन चक्रमा देखिने समस्याहरूलाई न्यून गराउँदै, विद्युतीय दस्तावेजका माध्यमबाट बिरामीका अभिलेखहरू सुरक्षित राख्न सकिने तथा आवश्यक समयमा सहजै पुनः उपयोग गर्न सकिने सुविधा समेत प्रदान गरिएको छ ।
ब्रिफिङमा वक्ताहरूले विकसित मुलुकहरूमा यस प्रकारका हस्पिटल म्यानेजमेन्ट सिस्टमहरू प्रभावकारी ढंगले लागू भइसकेको र तिनले नागरिकको स्वास्थ्य सेवामा सहजता, पारदर्शिता र विश्वास वृद्धि गरेको उदाहरण प्रस्तुत गरे । मेड आईक्यूले सोही अनुभवको आधारमा नेपाली स्वास्थ्य प्रणालीलाई स्थानीय आवश्यकता अनुसार परिमार्जन गरिएको सफ्टवेयरमार्फत प्रविधिमा रुपान्तरण गर्ने प्रयास गरिरहेको उल्लेख गरियो ।
कम्पनीले विकास गरेको एचओएस सफ्टवेयर स्वास्थ्यकर्मीहरूलाई प्रविधिमैत्री बनाउँदै बिरामी तथा सेवाग्राहीलाई आधुनिक सेवा अनुभव दिलाउने विश्वास व्यक्त गरिएको छ । सफ्टवेयरले द्रुत सेवा प्रवाह, व्यवस्थापनमा पारदर्शिता, रिपोर्टिङ प्रणालीमा सहजता र अभिलेख सुरक्षित राख्ने क्षमता उपलब्ध गराउने कम्पनीको दावी छ ।
मेड आईक्यूले विश्वका विभिन्न देशमा प्रयोगमा रहेका सफल प्रविधिहरूको अध्ययन तथा छनौटको आधारमा यो सफ्टवेयर निर्माण गरेको जनाएको छ । कार्यक्रममा नियमनकारी निकायहरूसँग नियमित समन्वयमा रही, निर्देशनअनुसार सफ्टवेयरलाई समयसापेक्ष परिमार्जन गर्दै लैजाने प्रतिबद्धता डा सुवास प्याकुरेल,सह–संस्थापक÷सिआईओले जानकारी गराए ।
ब्रिफिङमा कम्पनीका जनसम्पर्क निर्देशक मिलनचन्द्र खनालले स्वास्थ्य क्षेत्रका सञ्चारकर्मीहरूलाई निरन्तर सुझाव, मार्गनिर्देशन र सकारात्मक आलोचनाका लागि आभार व्यक्त गर्दै, प्रविधिसम्बन्धी सबै क्रियाकलापमा उनीहरूको साथ आवश्यक रहेको बताए ।
यस कार्यक्रममार्फत मेड आईक्यूले नेपालको स्वास्थ्य प्रणालीमा डिजिटल रुपान्तरणको एक अर्को महत्वपूर्ण पाइला चालेको विश्वास गरिएको छ । भविष्यमा अन्य सफ्टवेयर तथा समाधानहरू पनि सार्वजनिक गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।











प्रतिक्रिया