गणेश रसिक: नेपाली गीत र साहित्यको अमर दीप अस्तायो


काठमाडौं।

नेपाली साहित्य, गीत र सांस्कृतिक आन्दोलनका अमिट हस्ताक्षर, गीतकार, गायक तथा साहित्यकार गणेश रसिकको ७८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित रसिकको निधन ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा भएको थियो । रसिकका घनिष्ट मित्र तथा संगीतकार वसन्त मुकारुङका अनुसार रसिकको निधनको समयमा परिवारका सदस्य र साथीहरू नजिकै थिए । उहाँका छोरी बेलायतबाट फर्किएपछि मात्र अन्तिम संस्कार गरिनेछ र अहिले उहाँको शव महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ ।

भोजपुरको कला र साहित्यको भूमिमा जन्मनुभएका रसिकले नेपाली साहित्य र गीत–संगीतलाई आफ्ना शब्द र भावनाले समृद्ध बनाउनुभएको थियो । ‘क्षितिजलाई छुन खोज्दा’ (कथासंग्रह, २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (कथासंग्रह, २०२७), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास, २०४८), ‘जब सिस्नुहरू टेक्दै हिँडेँ’ (संस्मरण, २०५५), ‘बिलाउँदै गएका गीत’ (कथासंग्रह, २०५८), ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास, २०६३), र ‘स्वाधिनताको पीडा’ (गीतसंग्रह, २०६८) जस्ता कृतिहरूमा रसिकको बहुआयामी प्रतिभाको झल्को पाइन्छ ।

रसिक केवल गीतकार वा लेखक मात्र नभई, नेपाली सांस्कृतिक आन्दोलनका एक अगुवा पनि हुनुहुन्थ्यो । उहाँले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५) जस्ता महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्नुभएको थियो । त्यसै गरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिवको रूपमा २०७२–२०७५ सम्म काम गर्नुभएको थियो । यी भूमिकाहरूमा रहँदा उहाँले नेपाली कला, साहित्य र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो ।

रसिकको जीवन केवल शब्दमा सीमित थिएन; उहाँका गीतहरूमा नेपालको माटो, नेपालीपन र जनजीवनको धडकन सुनिन्थ्यो । उहाँका गीतहरूले समयसँगै परिवर्तन भोगेका नेपाली समाजका कथा बुनिरहेका थिए । उहाँ गीतमा मात्र होइन, जीवनशैलीमै एक सिर्जनशील र प्रगतिशील व्यक्तित्व हुनुहुन्थ्यो ।

२०७८ सालमा रसिकको जीवनमा ठूलो चोट परेको थियो, जब उहाँकी जीवनसंगिनी निरा शेरचनको निधन भयो । त्यस घटनाले उहाँलाई भावनात्मक रूपमा कमजोर बनाए पनि उहाँ आफ्नो सिर्जनामा क्रियाशील रहनुभएको थियो ।

नेपालको साहित्य र संगीतको इतिहासमा गणेश रसिकको नाम सधैं अमर रहनेछ । उहाँका कृतिहरूले भाबी पुस्तालाई सिर्जनशीलता, सामाजिक यथार्थ र सांस्कृतिक चेतनाको बाटो देखाइरहनेछ । उहाँका गीतहरू गुञ्जिरहनेछन्, कथाहरू पढिइरहनेछन्, र उहाँका शब्दहरूले नेपाली समाजलाई अझै अँगालिरहनेछन् ।