अस्तव्यस्त राजधानीको फोहोर व्यवस्थापन : रकम छ, इच्छाशक्ति छैन

186.5k
Shares

काठमाडौं

वर्षायाम शुरू भएसँगै राजधानीको फोहोर व्यवस्थापनमा फेरि पुरानै समस्या दोहोरिने सम्भावना छ । अव्यवस्थित बन्चरेडाँडा ल्यान्डफिल साइटलाई व्यवस्थित नगरेसम्म समस्या यथावत हुने देखिएको छ ।

राजधानीको फोहोर केवल सरसफाइको विषयमात्र होइन । वातावरण, जनस्वास्थ्य र सहरी जीवनलाई नै असर गर्ने गम्भीर संकट हो । साथै समग्र देशकै छविलाई कलंकित बनाउने कालो धब्बा पनि हो ।

काठमाडौं महानगरपालिकाको वार्षिक बजेट करिब २४ अर्ब रुपियाँ छ । त्यसमा फोहोर व्यवस्थापनमा मात्र करिब १ अर्ब रुपियाँ खर्च हुन्छ । त्यसमध्ये १० करोड रुपियाँ इन्धनमा जान्छ । केही रकम सहरी विकास मन्त्रालयले बेहोर्दै आएको छ । तैपनि कामपाले न त आफ्नो क्षेत्रको फोहोर व्यवस्थापन गर्न सक्यो, न ल्यान्डफिल साइटको उचित व्यवस्थित गर्न नै सक्यो । मेयर बालेन्द्र साहले पदभार ग्रहण गर्नुअघि सिसडोल पुगेर स्थानीयबासीसँग जुन संवेदनशीलता र प्रतिबद्धता देखाउनुभएको थियो, त्यो अहिले खोक्रो आदर्श र ‘स्टन्ट’ मा परिणत हुँदै गएको छ ।

अहिलेको मूल समस्या भनेकै स्थानीय ठेकेदारसँग प्राविधिक दक्षता र पर्याप्त पुँजी नहुनु हो । राजधानीको फोहोर संकलन र ढुवानी गर्ने जिम्मा लिएका निजी क्षेत्रका ठेकेदार कम्पनीले राजधानीका विष्णुमती, वागमती, धोबीखोला, रुद्रमतीलगायत खोला किनारमा फोहोर संकलन गर्ने स्थान (ट्रान्सफर स्टेसन) बनाएका छन् । स्थानीयले जताततै अवरोध गरेपछि खोला किनार ट्रान्सफर स्टेसनमा परिणत भएको हो । ट्रान्सफर स्टेसन व्यवस्थापन गर्ने जिम्मा कामपाको हो । तर अहिले फोहोर व्यवस्थापनका लागि योजना बनाउन छाडेर ठेकेदार छान्नमै व्यस्त देखिएको छ । ठेक्काबाट आउने कमिसनको लोभमा मेयर सचिवालयका सदस्य सुनील लम्सालले फोहोर ढुवानी, संकलनदेखि बिक्री गर्नेसम्मको ठेक्का लगाउन शुरू गरेको आरोप लागेको छ । कवाडीलाई हटाएर सफा राजधानी बनाउँछु भन्ने कामपाबाट ठेकेदार पोस्ने काम शुरू भएको भन्दै आलोचना हुन थालेको छ ।

ल्यान्डफिल साइटका प्रभावित स्थानीयहरूले वर्षौंदेखि मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र घोषणा गर्नुपर्ने, फोहोरमैला र प्रदूषणरहित बस्ती विकास क्षेत्र कायम गरिनुपर्ने, फोहोरमैला प्रभावित क्षेत्रलाई संवेदनशील क्षेत्रका रूपमा घोषणा गर्नुपर्ने, फोहोरमैला विकास प्राधिकरण गठन गरी फोहोरसम्बन्धी उद्योग स्थापना गर्नुपर्नेलगायतका माग अघि सारेका छन् । उनीहरूले अति प्रभावित क्षेत्रलाई अधिकरण गरी मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्ने, प्रभावित क्षेत्रमा रहेका गुठी जग्गालाई रैतानी गर्ने प्रक्रिया शुरू गर्नुपर्ने, अस्पतालजन्य विषादी, रसायन, औद्योगिकजन्य, विद्युतीय, ऊर्जाजन्य सामग्री, तेजाब, मृत पशुपन्छी र बधशालाबाट उत्पादन गरिने फोहोरमैला डम्पिङ साइटमा लैजान प्रतिबन्धित गर्नुपर्ने लगायत माग पनि उठाएका छन् । तर, कामपाको काम गर्ने शैली सही नहुँदा वा भनौँ ढंग नपुग्दा प्रभावित स्थानीयको अधिकांश उचित माग पूरा हुन सकेको छैन ।
टुक्रिएको प्रणाली, ठूलो अस्तव्यस्तता

कामपाले फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्न ७ वटा क्षेत्र निर्धारण गरी प्रत्येक क्षेत्रमा निजी ठेकेदारलाई फोहोर संकलन गर्ने जिम्मा दिएको छ । भनांै महानगरको फोहोरमा ठेकेदार हाबी भइरहेको छ । प्रभावकारी सेवाका लागि निजी क्षेत्रलाई जिम्मेवारी दिए पनि समन्वय, एकरूपता र जवाफदेहिताको अभावका कारण समस्या विकराल बन्न पुगेको छ । ७ क्षेत्रमध्ये अहिले एउटामा मात्र काम शुरू भएको छ । त्यो पनि कामपाले संकलन गरेर टेकु ट्रान्सफर स्टेसनमा लगेको फोहोर मात्र व्यवस्थापन हुने गरेको छ । स्रोतका अनुसार सोचेजति फाइदा हुने नदेखेपछि ठेकेदार पनि दिक्क मान्न थालेका छन् ।
ल्यान्डफिल साइटको सीमित क्षमताका कारण वागमती, विष्णुमती र धोबीखोला किनारमा फोहोर थुप्रिएको हुन्छ भने वर्षायामसँगै बन्चरे डाँडासम्म पुग्ने बाटो हिलाम्य हुने र सवारी चल्न नसके अवस्था सिर्जना हुन्छ र दैनिक फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित हुन्छ ।

त्यसमाथि वर्षात्मा नदीको भेलसँगै ती फोहोरको लेदो उपत्यकाभरि फैलिन्छ । जसले गर्दा हरेक वर्षायाममा उपत्यकावासी हैजाको महामारी र डेंगु फैलिने त्रासले आक्रान्त बन्न पुग्छन् ।

फोहोरको उपेक्षाले डेङ्गु र हैजा फैलिँदो

वर्षात्को समयमा उठ्न नसकेको फोहोर डेंगु फैलाउने लामखुट्टेको प्रजनन स्थल बन्छ । तीन वर्षअघिको डेंगु आतंक यही फोहोरको कारण फैलिएको थियो । बालेन साह मेयर बनेको पहिलो वर्षमै बन्चरेडाँडाका स्थानीयसँगको असमझदारीका कारण फोहर शहरमै थुप्रिँदा काठमाडौंमा डेंगुको हालसम्मकै ठूलो महामारी फैलिएको थियो । फोहोरकै कारण वर्षामा हैजाको प्रकोप बढ्ने गरेको छ । वर्षासँगसँगै गर्मीका कारण फोहोर कुहिएर दुर्गन्ध फैलने, मुसा र कीरा आकर्षित गर्ने र बस्तीहरूमा सार्वजनिक स्वास्थ्यको जोखिम बढ्ने पनि गर्दछ ।

फोहोरमै सम्भावना, मोहोर बनाउने अवसर

काठमाडौंबाट दैनिक १ हजार ४ सय टन फोहर उत्पादन हुने अध्ययनले जनाएको छ । त्यसमा कामपाको मात्र करिब १ हजार ५० टन छ । यो फोहोरको ठूलो हिस्सा पुनःप्रयोग गर्न सकिने खालको हुन्छ । तर प्रविधि, जनशक्ति र स्पष्ट नीतिको अभावले फोेहोरलाई प्रांगारिक मल, ऊर्जा वा पुनःप्रयोगयोग्य वस्तुमा रूपान्तरण गर्न सकिएको छैन ।

विकसित सहरहरूले ठूला कम्पनीमार्फत फोहोर व्यवस्थापन गर्नुका साथै फोहोरबाट मोहर कमाइरहेका छन् । ती कम्पनीहरूले केवल फोहोर उठाउने काममात्रै गर्दैनन्, त्यसलाई प्रांगारिक मल, ऊर्जा वा पुनःप्रयोग योग्य सामग्रीमा परिणत गरी फोहोरबाट नाफा कमाउँछन् र सम्बन्धित स्थानीय तहलाई सेवाशुल्कसमेत तिर्छन् । उनीहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै सहरलाई सुन्दर, सफा र हराभरा बनाउँछन् ।

काठमाडौं महानगरले इच्छाशक्ति देखाउने हो भने राजधानी र आसपास जोडिएका १८ स्थानीय तहको फोहोर विसर्जन हुने बन्चरेडाँडाको फोहोर पनि सही तरिकाले व्यवस्थापन गर्न सकिन्छ । केवल फोहोर उठाउने काममै करोडांै खर्च गर्नुपर्ने बाध्यतासमेत हटी त्यसलाई नै गतिलो र दिगो आयको एउटा स्रोतको रूपमा विकास गर्न पनि सक्छ ।

मेयरको सचिवालय शंकाको घेरामा

मेयर बालेनको सचिवालयले अन्तर्राष्ट्रिय ठेकेदारको साटो स्थानीय ठेकेदारलाई रोज्नुले भ्रष्टाचारको गन्ध आएको आरोप लाग्न थालेको छ । स्थानीय ठेकदारलाई धम्क्याउन र घुस माग्न सजिलो हुने भएकाले त्यस्ता ठेकेदारलाई रोजिएको भन्ने आरोप लागेको छ । विदेशी कम्पनीहरूसँग घुसको मोलतोलाई गर्न मुस्किल हुन्छ । त्यसको ज्वलन्त उदाहरण हो, पछिल्लो समय करिब ३ अर्ब रुपियाँ बराबरको टेन्डर हाललाई स्थगित हुने सम्भावनामा पुग्न लागेको छ ।

फोहोर व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय कम्पनी नआएका होइनन् तर आएका कम्पनीलाई बाधा व्यवधान खडा गरिएको छ । जसले गर्दा स्थानीय ठेकेदारलाई दुई वर्षपछि अर्थात् २०८४ को निर्वाचन खर्च जुटाउने ‘टुल’का रूपमा प्रयोग गरिँदै छ भन्ने आलोचना बढ्दै गइरहेको छ ।

यसरी गर्न सकिन्छ फोहोरको व्यवस्थापन

कामपाले फोहोर व्यवस्थापनमा १ अर्ब रुपियाँ खर्च गर्न सक्छ भने अन्तर्राष्ट्रिय कम्पनीसँग साझेदारी गर्न किन सक्दैन भन्ने प्रश्न उठेको छ । केही काम नगरी सजिलै रकम आउने काम किन गर्दैन ? विदेशी कम्पनीलाई दियो भने स्थानीयले पनि फोहोर उठाइदिएबापत कम पैसा तिरे पुग्छ, कामपालाई पनि फोहोर घाँडो हुँदैन । महानगरको १ अर्ब रुपियाँ पनि जोगिन्छ र उल्टै पैसा पनि आउँछ । यसरी बचत भएको पैसा अरू महत्वपूर्ण काममा लगानी गर्न सकिन्छ ।
मेयर बालेन साहलाई सहरको मुहार फेर्ने र सिसडोलबासीसँग गरेको प्रतिबद्धता पूरा गर्न अझै अवसर छ । उहाँले आफ्नो कार्यकालको बाँकी दुई वर्षलाई उचित र दूरगामी निर्णय गर्ने अवसरका रूपमा परिणत गर्न सक्नुहुन्छ ।

मेयर साहले दृढ इच्छाशक्ति देखाउने हो भने काठमाडौंले फोहोर व्यवस्थापनका लागि कुनै अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता गरेर त्यसमा स्थानीय कम्पनीलाई तालिम दिने र सहकार्य गर्ने व्यवस्था मिलाउन सकिन्छ । यसरी दीर्घकालीन रूपमा नेपालभित्रै सक्षम जनशक्ति र संस्थाहरू तयार पार्न सक्छ । जसले गर्दा भविष्यमा स्थानीय तहबाटै सहज र सरलताका साथ यी कामहरू गर्न सकिन्छ ।

सानो नगरपालिकाहरूले अहिले नै यस्तो काम गर्न नसके पनि कामपाले राष्ट्रिय नमुना तयार गर्न सक्छ र यसलाई क्रमशः अन्य शहरहरूमा विस्तार गर्न सकिन्छ । अन्तर्राष्ट्रिय साझेदारीबाट सहर सफा त हुन्छ नै, स्थानीय दक्षता र नवप्रवर्तन पनि बढ्न सक्छ । साथै फोहोरमा खेर गइरहेको करोडौं रुपियाँ जोगिन्छ ।