प्रधानमन्त्री ओलीद्वारा धुलिखेल अस्पतालमा निर्माण हुने  सय  शय्याको ट्रमा सेन्टरको  शिलान्यास 


काठमाडौं।

 प्रधानमन्त्री केपी शर्मा ओलीले  काभ्रेको धुलिखेल अस्पतालमा निर्माण हुन लागेको ट्रमा सेन्टर  तथा आकस्मिक सेवा भवनको शिलान्यास गरेका छन्  ।कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जापान नेपालको भरपर्दो मित्र देश र बिकासको भरपर्दो साझेदार देशको रुपमा रहेको पनि बताए ।

जापान सरकारको पूर्ण सहयोगमा  सय  शय्याको अत्याधुनिक ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माणको पूर्वतयारी पूरा भएको छ। जापानीज कम्पनी टोडा को–अपरेसन, टोकियोले निर्माणको जिम्मा लिएको छ ।

यो परियोजना जापान सरकारको ३.८७९ बिलियन जापानी येन सहयोगमा सन् २०२७ मा सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माण कार्य दुई वर्षभित्र सम्पन्न हुने कम्पनीले जनाएको छ। परियोजनाको कार्यान्वयन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र धुलिखेल अस्पतालले संयुक्त रुपमा गर्नेछन् ।

ट्रमा सेन्टरमा अत्याधुनिक सिटी स्क्यान, एमआरआई, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्स–रे मेसिन लगायत आवश्यक सबै उपकरणहरु उपलब्ध गराइनेछ । प्रमुख कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले यसले गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। 

यस ट्रमा सेन्टरको स्थापना सन् २०१४ मा प्रस्ताव गरिएको हो, जसमा जाईका  ले सहयोगको प्रतिबद्धता जनाएको थियो । अन्ततः सन् २०२३ र २०२५ मा नेपाल र जापान सरकारबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

यो परियोजनाबाट काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर लगायत बीपी राजमार्गले जोड्ने तराईका जिल्लाका नागरिकहरुले समयमै आकस्मिक सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा बढ्दो सडक दुर्घटना तथा भिरबाट लडेर हुने चोटपटकका घटनालाई ध्यानमा राख्दै, यस्तो ट्रमा सेन्टरको आवश्यकता झनै बढेको छ  । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक चार घण्टामा एक जनाको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको छ ।