कास्की।
नयाँ नेतृत्वको लागि युवा संघ नेपाल अहिले रस्साकस्सीमा छ । सुमन पुरी र क्षितिज थेबे कसले बाजी मार्छ र नेतृत्व लिन्छ भन्ने सबैलाई चासोको विषय बनेको छ । पोखरामा राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनको आज चौथो दिन सोमबार विहानैदेखि मतदानको प्रक्रिया सुरु गर्ने भनिएपनि सुरु हुन सकेको । युवा संघका पूर्व उपाध्यक्ष माधव बास्तोलाका अनुसार उम्मेदवारको नाम फिर्ता लिने समय मागेपछि समय लम्बिएको हो । उनले उम्मेदवारको नाम फिर्ता लिने र रुजु गर्ने समय लागेकोले मतदान प्रक्रिया ढिलो भएको बताए । सर्वसम्मतको प्रयास असफल भएपछि मंगलबार बिहानदेखि मतदानको प्रक्रिया अघि बढ्ने स्पष्ट पारे ।
१५१ सदस्य समिति बन्ने छ । त्यसको लागि पुरी र थेबेले आफनो प्यानलसहित अगाडि बढेका छन् । सात प्रदेश र अन्तर जिल्ला विशेष प्रदेश गरी १५१ सदस्य कार्यसमिति चयन हुने छ । निर्वाचनको प्रक्रिया सुरु गर्ने भनिएपनि अझै प्रक्रिया सुरु नहुँदा सबै अन्यौलकै अवस्थामा रहेका छन् । फकाउने र हटाउने अनि सर्वसम्मत गर्ने प्रयासलाई पनि निरन्तरता दिईरहेका छन् ।
पुरीको प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम, पार्वत भण्डारी, महासचिवमा कुवेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिवमा अरुण कुँवर, ध्रुव खड्का, महिला सचिवमा रेणु तामाङ, मधेशी सचिवमा चितरन्जन यादव रहेका छन् । त्यसैगरी अनुशासन आयोगको अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोगमा शिव रिमाल, लेखा आयोगमा विक्रम गुरुङ र युवा विज्ञ परिषदमा मोदनाथ सिलवाल(सन्तोष) रहेका छन् ।
थेबेको प्यानलमा उपाध्यक्षमा महाराज गुरुङ,विनय शाह, महासचिवमा महेश चौलागाँई, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी, देबु बस्नेत, मधेशी सचिवमा मोविनअख्तर आलम र महिला सचिवमा निशा लिम्बु छन् । अनुशासन आयोग तर्फ मोहम्मद निजामुद्धिन, निर्वाचन आयोगमा मदन गिरी, लेखामा कृष्णदत्त जैसी, युवा विज्ञ परिषदमा चिन लामा रहेका छन् ।
खुल्ला सचिवालय सदस्यमा पाँच महिलासहित १६ सदस्य रहने व्यवस्था छ । त्यस्तै कोशी प्रदेशमा १४ खुल्ला सदस्य र ७ महिला गरी २१ सदस्य, मधेशमा ८ जिल्ला समेट्ने गरी ८ खुल्ला र ५ महिला गरी १३ सदस्य, बाग्मती प्रदेशमा १३ जिल्ला समेट्न १३ खुल्ला र ७ महिला गरी २० सदस्य, गण्डकीमा ११ जिल्लालाई समेट्न ११ खुल्ला र ६महिला गरी १७ सदस्य, लुम्बिनीमा १२ जिल्ला समेट्ने गरी १२ खुल्ला र ६ महिला गरी १८ सदस्य रहने व्यवस्था छ । त्यस्तै कर्णाली प्रदेशको १० जिल्ला समेट्न १० खुल्ला र ५ महिला गरी १५ तथा सुदूर पश्चिम ९ जिल्ला समेट्ने ९ खुल्ला र ५ महिला गरी १४ सदस्य रहने छन् । अन्तर जिल्ला विशेष प्रदेशमा ५ खुल्ला र ३ महिला गरी ८ सदस्य रहने व्यवस्था छ । अधिवेशनमा झन्डै १८ सय ३८ सदस्य मतदानमा सहभागिता जनाउने छन् ।











प्रतिक्रिया