तीनकुने घटनाः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन


काठमाडौँ।

तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शनको घटनाबारे प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। दुई महिनासम्म गरिएको अनुसन्धानपछि प्रहरीले १०८ जनाविरुद्ध विभिन्न गम्भीर अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको हो।

प्रतिवेदनअनुसार उनीहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह, आपराधिक उपद्रव र सङ्गठित अपराधजस्ता अभियोग लगाइएको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माका अनुसार आइतबारभित्र मुद्दा दर्ता गरिनेछ।

उक्त घटनामा संलग्न ठहर गरिएका मध्ये ५३ जना अहिले हिरासतमा छन् भने अन्य केही फरार छन्। राप्रपाका सांसद धवलशमशेर राणा तथा उपाध्यक्ष रवीन्द्र मिश्रसहित केही व्यक्तिलाई हाजिरी जमानीमा छाडिएको छ।

प्रदर्शनको अगुवाई विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए, जसलाई पछि भारतबाट पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले चार युनिट थप गरी विशेष टोली खटाएको थियो। सङ्गठित अपराध अन्तर्गतको मुद्दा भएकाले ६० दिनभित्र मुद्दा दर्ता गर्नुपर्ने कानुनी बाध्यता छ, त्यसैले आगामी १५ जेठभित्र मुद्दा अदालत पुग्नेछ।