–प्रधानमन्त्रीबाट उद्घाटन हुने
–१२ वटा प्यानल छलफल, ४ वटा साइड इभेन्ट र थिमेटिक राउन्ड टेबल
काठमाडौं ।
जलवायु परिवर्तनका कारण संकटमा परेका पर्वतीय तथा तटीय मुलुकहरूको आवाजलाई विश्वसामु बुलन्द पार्न नेपालले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद आज (शुक्रवार) देखि काठमाडौंमा शुरू हुने भएको छ । जेठ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने सो संवादको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य कार्यक्रमका बीच उद्घाटन गर्नुहुनेछ ।
सोल्टी होटलमा आयोजना गरिएको सो कार्यक्रम शुक्रबार विहान ९ः३० मा उद्घाटन गरिने सगरमाथा संवाद सचिवालयले जनाएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्य’ भन्ने मूल नारासहितको यो उच्चस्तरीय अन्तर्राष्ट्रिय संवाद शुरू हुनेछ । सो संवाद कार्यक्रममा विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र सरोकारवाला गरी ७ सयभन्दा बढीको सहभागिता रहनेछ ।
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता तथा उच्च पदस्थहरू सदस्य रहेको स्टेरिङ कमिटी, परराष्ट्रमन्त्री आरजु राणा देउवाको अध्यक्षतामा व्यवस्थापन समिति तथा सरकारका मुख्य सचिव एकनारायण अर्यालको नियमित रेखदेख र निर्देशन हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सगरमाथा संवाद सचिवालय बनाएर कार्यक्रमलाई सफल पार्ने गरी सबै तयारी पूरा भइसकेको बताइएको छ ।
सो कार्यक्रमका लागि विश्वका विभिन्न देशबाट राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र सरोकारवालासहित दुई सय ५० बढी प्रतिनिधिको सहभागिता रहने र बाँकी नेपालकै उच्चस्तरका अधिकारी, विज्ञ तथा विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व रहने छ ।
सो कार्यक्रममा विज्ञहरूमार्फत १२ वटा प्यानल छलफल, चारवटा साइड इभेन्ट र थिमेटिक राउन्ड टेबलका माध्यमबाट जलवायु परिवर्तनको बहुआयमिक असरमाथि गहन बहस हुनेछ । संवादमा जलवायु न्याय र कूटनीति, पर्वतीय जीवन, हिमनदी संरक्षण, वातावरणीय न्याय, ग्रीन इकोनोमी र अन्तरदेशीय सहकार्य, जलवायु न्याय र मानवको भविष्य, जलवायु परिवर्तनमा एजेन्डामा सहकार्य र समन्वय, खाद्य सुरक्षा र जलवायु परिवर्तन, जलवायु परिवर्तन युवा शक्ति विज्ञान, प्रविधि र आविष्कार जस्ता विषय केन्द्रमा रहनेछन् ।
नेपालले यो संवादलाई विशेष महत्व दिएको छ । सरकारबाट यसअघि नै १७ वटा रणनीतिक निर्णय लिइसकिएको छ । कार्यक्रमबाट पर्वतीय मुलुक नेपालबाटै जलवायु परिवर्तनका प्रभावबारे विश्वस्तरमा गम्भीर सन्देश विश्व समुदायमा पु¥याउने लक्ष्य राखिएको छ ।
पेरिस सम्झौताअनुसार शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने विश्व लक्ष्य भए पनि सन् २०५० भित्रै हिमाली क्षेत्रमा तापक्रम १.८ डिग्रीभन्दा माथि पुग्ने प्रक्षेपण वैज्ञानिकहरूले गरिसकेका छन् । यसले गर्दा हिमालका दुई तिहाइभन्दा बढी हिम–भण्डारहरू पग्लिने जोखिम उच्च रहेको विज्ञहरू बताउँछन् ।
यो अवस्था विशेष गरी जलस्रोत, कृषि, जैविक विविधता र मानव जीवनमा गहिरो असर पार्न सक्ने भएकाले नेपालले विश्वव्यापी चेतना जगाउने प्रयासका रूपमा सगरमाथा संवादलाई अघि सारेको हो । नेपालले दुई दुई वर्षमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने निर्णयसमेत गरिसकेको छ ।











प्रतिक्रिया