कर्णालीमा फेरी निर्माणमा भ्रष्टाचार

पलाताका पूर्वअध्यक्ष र उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा


काठमाडाैं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्ष, इन्जिनियर, सबइन्जिनियरदेखि उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित १० जनाले गैरकानुनी लाभ तथा हानि पु¥याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार कर्णालीको फेरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम, उपाध्यक्ष दाना न्यौपाने, निमित्त प्रशासकीय अधिकृत राजकुमार बम, ९ नम्बर वडाका वडाध्यक्ष टंकबहादुर बम, इन्जिनियर खडानन्द रिजाल, सब इन्जिनियर विनोदकुमार बम, तत्कालीन सहलेखापाल नन्दबहादुर शाही, कर्णाली फेरी निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरजीत रोकाय सचिव अंग रोकाय र कोषाध्यक्ष पदशीना बमसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

कालिकोटको पलाता गाउँपालिका वडा नं ९ र पचाल झरना गाउँपालिका बीचमा पर्ने घाटाचौर थिर्पु भन्ने ठाउँमा कर्णाली प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरी निर्माणको लागि बजेट आएकोमा काम पूरा नगरी उक्त बजेट अनियमित किसिमले खर्च गरेको भन्दै उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा पलाता गाउँपालिकालाई आर्थिक वर्ष २०७७-७८ मा कर्णाली प्रदेश सरकारबाट फेरी निर्माणबापत प्राप्त भएको रकममध्ये ७५ लाख ५६ हजार ९ सय लागत अनुमान तयार गरी उपभोक्ता समितिसँग सम्झौता भई कार्य गर्दा उक्त कार्य सम्पन्न नगरी सम्पन्न भएको देखाएको, विनियोजित बजेट अनुसारको कार्य सम्पन्न नै नभएको अवस्थामा भुुटो बिल भरपाई तयार गरिएको थियो ।

सार्वजनिक संस्थालाई हानि पु¥याउने बदनियतले मनासिव कारण बिना निर्माण कार्य नै नगरेको, निर्धारित सर्त तथा मापदण्डविपरीत कार्य गरे गराएको, नभए नगरेको काम भए गरेको भनी झुटा बिल, भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाई २५, लाख ५२ हजार ५३ उपभोक्ता समितिलाई भुक्तानी लिने दिने कार्य गरी उपभोक्ता समितिका पदाधिकारीलाई गैरकानुनी लाभ पु¥याउने र गाउँपालिकालाई हानिनोक्सानी पु¥याएको पुष्टि भएको प्रवक्ता पौडेलले बताउनुभयो ।