अख्तियारले आधा दर्जनभन्दा बढीसँग गर्‍याे सोधपुछ

अनधिकृत व्यक्तिको विषयमा छानबिन हुँदै

45.87k
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहसचिव प्रदीप परियारले साह सचिवालयका दुई सदस्य र एक अनधिकृत व्यक्तिलाई फ्रान्स पठाउन कानुनविपरीत निर्णय गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आधा दर्जनभन्दा बढीसँग सोधपुछ जारी राखेको छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत परियार, मेयरका सल्लाहकार कुमार व्यञ्जनकार र सुनील लम्सालसँग सोधपुछ गरेको छ । उच्चस्रोतका अनुसार सो प्रकरणमा अनधिकृत व्यक्ति प्रवीण श्रेष्ठको नाममा पत्र तयार गर्ने कर्मचारीको पनि खोजी भइरहेको छ । स्रोत भन्छ– ‘विदेशबाट फ्रान्स भ्रमणमा आएका व्यक्ति कसरी मेयर साबसँगै कार्यक्रममा सहभागी गराइयो भन्ने विषयमा समेत खोजबिन भइरहेको छ ।’

उच्चस्रोतका अनुसार तत्कालीन प्रशासन विभाग प्रमख दीपक अधिकारीले कार्यपालिकाको बोर्डमा २ जनाको नाम सिफारिस गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत परियारले स्वीकृत गर्नुभएको थियो । परियारले व्यञ्जनकार र लम्सालको नाममा पत्र तयार गरी टिकटसमेत व्यवस्था गरिदिनुभएको थियो । सो विषयमा तत्कालीन प्रप्रअ परियारसँग नेपाल समाचारपत्रले जानकारी लिन खोज्दा त्यो विषयमा आफूलाई कुनैै जानकारी नभएको भन्दै महानगरलाई नै जानकारी होला भन्ने जवाफ फर्काउनुभयो ।

महालेखाले रकम असुल गर्न ताकेता गर्दा तपाईंले कामपाको वित्त विभागका कर्मचारीलाई पटकपटक फोन गरेर रकम तिरिदिन अनुरोधन गर्नुभएको होइन ? भन्ने प्रश्नमा उहाँको जवाफ थियो– ‘किन मैले फोन गर्ने ? गरेकै छैन ।’ महानगर स्रोतका अनुसार परियारले वित्त विभागका कर्मचारीलाई दर्जनौं पटक फोन गरी रकम तिर्न दबाब दिनुभएको थियो ।
यस प्रकरणमा अख्तियारमा बयान दिन पुग्नेमा आठौं तहका लेखाअधिकृत श्याम न्यौपाने, भुक्तानी गर्न चेकमा हस्ताक्षर गर्ने लेखाअधिकृत नारायणसिंह भण्डारी, आन्तरिक लेखा परीक्षण शाखा प्रमुख यादव घिमिरे लेखाअधिकृत सरु सोती र लेखापाल मञ्जुल लिम्बू छन् ।

एक सातायता अख्तियारले सबै जनालाई बयानमा बोलाइरहेको छ । सो विषयमा मेयर साहसँग समेत सोधपुछ गर्ने तयारी रहेको बताइएको छ । गतवर्ष मे १४ देखि २५ तारिखमा फ्रान्समा ७७ औं फिल्म फेस्टिबल भएको थियो । सो कार्यक्रममा मेयर साहलाई मात्र निम्तो आएको थियो । तर मेयरसँगै सचिवालयका सदस्य व्यञ्जनकार र लम्सालको भ्रमण स्वीकृत भएको थियो । त्यसबापत २० लाख ४९ हजार १ सय ६५ रुपियाँ भुक्तानी भएको थियो ।

गत वर्ष असार १८ गते भुक्तानी गर्न भौचर तयार भएको थियो । उक्त भौचर लेखाअधिकृत नारायण पंगेनीले भौचर तयार गर्नुभएको थियो । वित्त विभागले यतिसम्म चलाखी गरेको छ कि व्यञ्जनकार र लम्सालको टिकट बापतको रकम एनआईसी एसिया बैंकबाट सीधै सफर नेपाल ट्राभल्स एन्ड टुरको नाममा भुक्तानी गरेको छ । केन्द्रीय दायित्व, भुअ सञ्चार, बिमा, हवाई र अन्य शीर्षकमा रकमसहित उल्लेख गरी भुक्तानी भएका भौचर तयार पारेको छ । भौचरको कपी नेपाल समाचारपत्रसँग सुरक्षित छ ।

भौचरमा नगर कार्यपालिकाको असार १० गतेको निर्णयबमोजिम नगर प्रमुखसहित सल्लाहकारद्वय सुनील लम्साल र कुमार व्यञ्जनकारले फ्रान्समा आयोजित फिल्म फेस्टिबलमा सहभागी जनाउँदा खर्च भएको रकम भुक्तानी गर्न भौचर उठाइएको छ । कामपा स्रोतका अनुसार महानगरले खर्च गरेको सबै रकम कसरी ट्राभल्स एजेन्सीलाई भुक्तानी गरियो भन्ने विषय अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

स्थानीय तहका पदाधिकारी विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले विदेश भ्रमण गर्न सरकारको अनुमति लिनुपर्दछ । तर, मेयर साहको जोडबलले मात्र कामपाकोे ब्यानरमा मेयर सचिवालयका दुई जना र अनधिकृत तीनजना फ्रान्स पुगेका थिए ।

महालेखाले लगातार ताकेता गर्दा पनि अझै रकम असुल गर्न सकेको छैन । अख्तियारले छानबिन शुरू गरेपछि वित्त विभाग, आलेपका कर्मचारीलाई गम्भीर समस्या परेको छ । असार १० गते बसेको बैठकले १८ गते ट्राभल एजेन्सीलाई भुक्तानी दिएको पाइएको छ । कामपाले ट्राभल एजेन्सीलाई भुक्तानी दिनुको कारण खोजी शुरू गरेको छ भने प्रविण श्रेष्ठ कसरी महानगरको कार्यक्रममा सहभागी भए भन्ने विषयमा अनुसन्धान गर्ने तयारी भएको छ ।